बाजे-बजैहरू
खुब माया गर्छन् नाति-नातिनाहरूलाई
खुब प्रेम गर्छन् सन्ततीहरूलाई
जति माया त सन्तानलाई गरेनहुन॥
बाजे-बजैहरू
नाति-नातिनाहरू
दिलको डिल काटेर कही नजाउन भन्छन्
आँगनको डिल काटेर कही नजाउन भन्छन्
मामाघर जानेलाई पनि बडो दुखले बिदाइ गर्छन्
उनिहरूत नाति-नातिनाहरू
आँखै अगाडि नाचीरहुन भन्छन्॥
हामी जन्मनु
बाजे-बजैहरू बुढा~हुनु
यो ब्रह्माण्डको अनुकृति हो
उनिहरूलाई थाहा छ
घाम-छाया छोटो छ
यो माया छोटो छ
सधै-सधै बाढीरहन पाईदैन्॥
त्यही भएर न! बाजे-बजैहरू
नाति-नातिनाहरू
आँखै अगाडि खेलीरहुन सोच्दा रहेछन्
यो आँगनको डिल काटेर
कतै नजाउन सोच्दा रहेछन्॥
फगत हामीलाई भने सहर लखेटीन्छ
हामीलाई भने वोडर्स गरिन्छ
आँखैबाट निमोठेर स्वर्णीम समय
आफ्नै बाट छुटाएर खुसी
देखाएर वोर्डीङ् नाम गरेको अड्डा
बोकाएर आफैँभन्दा ठुला झोला
फगत हामीलाई भने सहर लखेटीन्छ॥
बाजे-बजैका धमीला आँखाहरूले
कति हेर्दाहुन आँगनको डिल
कति खोज्दाहुन्
चाउरिएका हातहरूले
मासूम गालाहरू स्पर्श गर्न!!
बाजेको धुदैगरेको अस्कोटको खल्तीमा
आमाले एक टुक्रा कागज भेट्नु
संयोग थियो
र त्यही कागज सहरसम्म पठाइदिनु उनको खुसी
त्यो केवल एक टुक्रा कागज थिएन
त्यो त बाजेको मुटु थियो॥
जहाँ लेखीएको रहेछ
बाकी एउटै मात्र रहरछ!
यी आँखामा पानी सुक्नु पहिले
यो घरमा शङ्ख बज्नु पहिले
केवल एकपटक
यो आँगनको वल्लो छेऊ-पल्लो छेऊसम्म
मेरा पुतली जस्तै नाति-नातिनाहरू
नाचेको हेर्ने रहरछ
र
रहरछ ति मासूम गालाहरूमा
अन्तिम पटक म्वाइँ खान॥
दीप पाठक
जापान
फेसबुकबाट तपाइको प्रतिक्रिया