श्रीस्वस्थानी : ‘अ लिजेन्ड स्टोरी अफ फिलोसोफिकल लाइफ’

मीरा राजभण्डारी अमात्य,
महाग्रन्थकोे प्रथम अध्ययायमा परब्रम्ह परमात्माको संसर श्रृष्टि गर्ने इच्छाले ब्रम्हाण्डको श्रृष्टि भएको र सोही इच्छाबाट प्रेरित भएर तीन देवता ब्रह्मा, बिष्णु, शिव प्रकट भएको उल्लेख छ । शिवबाट सत्व, रज, तम तीन गुणबाट युक्त माया वा ‘प्रकृति’ उत्पन्न भएको र ‘सो मायालाई कसैले जित्न सक्दैन’लगायत प्रकृतिबाटै प्रलय श्रृष्टि हुने, प्रकृति वा मायादेखि भिन्न अशान्तिपद, माया वा प्रकृतिदेखि पर शान्तिपद, शान्तिदेखि पर विद्यापद, विद्यापददेखि पर प्रतिष्ठायुक्तपद वा निवृत्तपद छ र त्यही पदलाई ‘मोक्ष’ पनि भनिन्छ भनी बहुतै क्लिष्ट र दार्शनिक व्याख्यानहरू गरिएका छन् ।

स्वस्थानी अर्थात आफ्नैमा रहेर मनुष्य र प्राणी मात्रको कल्याण गर्ने । हरेक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विशेष नियममा रहेर श्री स्वस्थानीको महाग्रन्थ वाचन, श्रवण तथा पूजा आराधना गरिन्छ । अयोध्याकी महारानी सीताको चरित्रमाथि नागरिकले प्रश्न उठाएका कारण महाराज रामले वनवास पठाए । । जंगलमा निर्वासित जनक नन्दिनी सीताले निरास हुँदै वाल्मीकि ऋषिसँग सोधिन्, ‘किन मानिसहरूको आशा मार्न सकदैनन् ? महर्षि वाल्मीकिले जवाफ दिए, ‘मनुष्यले बाचुञ्जेल आशा मार्न सक्दैनन्, किनकि आशा त्यस्तो हुन्छ, जसले दुःख वा निराशाबाट उन्मुक्ति दिलाउन ज्योतिको रूपमा काम गरिरहेको हुन्छ । जब जीवनमा चारैतिर निराशा र दुःखको भवसागरबाट मानिस गुज्रिन्छन् वा जीवनमा चारैतिर असफलताको अँध्यारोले घेर्न थाल्छ, तव मनुष्यलाई एउटै कुराले जीवित राख्छ वा धैर्यशील बनाउँछ त्यो हो आशा । जब एउटा अध्याँरो गुफामा मानिस फस्दछ र उसले अचानक गुफाको पुछारमा एउटा सानो प्रकाश वा उज्यालो देख्छ तब मानिस अँधेरो गुफाबाट निक्लिने प्रयासमा उज्यालो भएतिर लम्किँदै जान्छ । ठीक त्यस्तै मनुष्यको जीवनमा आशा एउटा यस्तो प्रकाश हो, जसले जीवनको हरेक कठीन परिस्थितिबाट उन्मुक्ति दिलाएर सफलता प्राप्त गर्न ऊर्जा दिइरहेको हुन्छ ।’

हाम्रा पूर्वजहरूले लोकको कल्याणका लागि मिथक वा वास्तविक श्री स्वस्थानी ग्रन्थको रचना गरे भन्न मन पराउँछु एक नीतिशास्त्रको विद्यार्थीको हैसियतले । वास्तवमा मानिस मात्र त्यस्तो प्राणी हो जसलाई मानव र समस्त प्राकृतिक जगतका कल्याणका लागि, अराजक हुनबाट जोगाउन विशेष नियममा बाँध्नु पर्ने बाध्यता छ । र युग र खासखास युगको अन्तरालमा मानव हितका लागि नियम कानुनका रूपमा विभिन्न कालखण्डमा श्री स्वस्थानी, श्री रामायण, श्री महाभारत, श्री कूरान, श्री वाइबल, श्री मुन्धुम, श्री त्रिपिटक आदि इत्यादिको रचना गरे बुझौँ न ।

अहिलेको युगमा मानिसको ज्ञान आस्था धैर्यलाई परिस्कृत गर्ने थुप्रै अत्याधुनिक माध्ययमको विकास भइसकेको छ भन्छन् आधुनिक युवा पुस्ता । अहिलेको अत्याधुनिक युगमा मानिसका आवश्यकता समस्या र चुनौती फरकफरक र अझ समस्याग्रस्त हुँदै गएको छ भन्छन् विद्वान र ज्ञानीहरू । अनि यस्तो सुनिरहँदा मानिस मष्तिस्क, मानव भावना र मानव मनलाई कसरी बाँध्ने त ? कसरी निरास जीवनलाई आशातिर विश्वासतिर डो¥याउने त ? विज्ञानले, कुनै शक्तिले मानव मन बाध्न सक्छ ? मानव मन बाँध्न सकिएन भने के हुन्छ के हुँदैन ? यी सब तर्कविर्तक जव मनमस्तिष्कमा उठ्न थाल्छ तब यी यावत प्रश्नका उत्तर खोज्ने मन हुन्छ । कहिलेकाहीँ मन्दिर मात्र होइन ती प्रश्नका गहकिला जवाफ खोज्न म मस्जिदका दरगाहमा चादर ओढाउन जान्छु, त कहिले चर्चतिर आइतबार पास्चरका प्रवचन सुन्न । शुक्रबारको आध्यात्मिक रौनक मस्जिदको कस्तो हुन्छ मलाई प्रत्यक्ष थाहा छैन । किनकि मुश्लिम सभ्यताले महिलालाई शुक्रबार अल्लाहताअलाको दरगाहमा कुरान पढ्न जाने वा सहभागी हुन पाउने संस्कार दिलाएको छैन । कुरानमा केके छ त्यो पनि थाहा छैन तर मेरो विवेकले के भन्छ भने कुरानमा लेखिएका ‘सूरह’ र ‘आयत’मा जेजे लेखिएका छन् ती सव मानव, समस्त जीव जगत र यो लोक मात्रको कल्याणका लागि श्लोकका रूपमा मानव धर्मका नियम काइदा कानुनहरू ख्ण्डखण्डमा विभाजिन गरी पूर्ण रूपमा वर्णन गरिएका छन् । जसले मानव प्राणीलाई ‘अल्लाहपाक’, ‘अल्लाह ताअला’ बाट मानव र समस्त जीव जगतको कल्याणका लागि केही नियमहरू शृंखलाबद्ध रूपमा बाँधि दिनुभएको छ, त्यसरी बुझौँ वा बुझेँ भनम् न ।

एक आइतबारको प्रसंग । चर्चमा त्यो दिन सुंगुरलाई चारा खुवाउन दान बक्स मागेको रैछ । मैले हाम्रो नेवा सभ्यतामा चरालाई दाना दिन एक मानन्धर समुदायले राखेको गुठी सम्झेँ । धर्म संस्कृति के हो ? यसले के दियो र के बिगा¥यो वा सपा¥यो, महिलालाई धर्म संस्कृतिले पछि पा¥यो वा पुरुषलाई हिरो बनायो त्यो पनि गहिरिएर सोच्ने ह्याउ ममा छैन तर मात्र यसरी बुझ्छु कि यो मात्र लोक र जीव जगतको कल्याणका लागि हो । मानिसलाई अराजक हुनबाट जोगाउन, धैर्यशील, दयावान र निष्ठावान हुन वा बनाउनका लागि ।

अब श्री स्वस्थानीतिर जाम । धेरै भयो श्री स्वस्थानी महाग्रन्थमा कोरिएका मिथक (तत्काल सभ्यताकला लागि वास्तविक) बारे सकारात्मक र नकारात्मक टिप्पणी भएको । विगतमा १७ वर्ष श्री स्वस्थानीको व्रत बसेको मलाई ईश्वरप्रतिको अगाध आसथाकै कारण होला नकारात्मक टिप्पणी त्यति सुन्न मन लाग्दैन । प्रायः वौद्धिक बहस हुन्छ मेरो र मेरा विद्वान मित्रजनहरूसँग । महिला विद्वानहरू भन्नुहुन्छ, ‘श्री स्वस्थानीमा महिलालाई निकै तल्लो स्तरमा गिराएर प्रस्तुत गरेको छ, वृन्दाको सतित्व हरण गरेको छ, सात वर्षकी बालिकासँग ७० वर्षको वृद्धसँग बिहे गरेको कथा छ, गँजेडी श्रीमानका रूपमा श्री महादेवलाई वरण गर्नुपर्ने, सतीदेवीलाई छलेर बिहे गर्ने छली श्री महादेवको जति निन्दा गरे पनि पुग्दैन, त्यसैले स्वस्थानीको पाना पाना च्यात्नु पर्छ आदि इत्यादि ।’

च्यात न त कल्ले रोकेको छ । तर च्यात्ने हो भने एकपटक श्री स्वस्थानीको प्रथमदेखि एकतिसौँ अध्यायसम्म केके वर्णित छन् जानम त ? ती सब खण्डखण्डमा विभाजित वर्णित कथा वा वास्विक घटनाक्रमहरूमा मानव कल्याणका दर्शन वा सिद्धान्त केही छ वा छैन ? श्री स्वस्थानीको मूल ध्येय के हो ? किन मानव जीवन वा सभ्यतामा श्री स्वस्थानीको आवश्यकता रह्यो र किन यो जाडोको थरथराउँदो मौसममा चिसो पानीले प्रत्येक दिन नुहाएर, शारीरिक मानसिक रूपले निराहर रहेर व्रत बस्छन् मानिसहरू ? के त्यस्तो शक्ति छ यसमा कि अरूबेला जाडोले डल्लो परिरहने व्यक्ति विशेष श्री स्वस्थानीको एक महिने व्रतमा दिनहँु खाली खुट्टाले हिँडछन् वा हिँड्न सक्छन् ? आत्मबल आत्मविश्वास र आध्यात्मिक चिन्तन मात्र लाग्छ यो सबको कारण । मानिस हतियारले होइन आत्मविश्वासले बढी जित्ने हुन् ।

अब विशुद्ध श्री स्वस्थानीमा वर्णित केही महिला पात्रहरूका विषयमा बहस गरौँ । श्री स्वस्थानीको प्राम्भमा माघ महात्म्यको पूर्वांगका रूपमा पाँच शृंखलामा श्री स्वस्थानीको श्री श्लोक वर्णित छ । महाग्रन्थकोे प्रथम अध्यायमा परब्रम्ह परमात्माको संसर श्रृष्टि गर्ने इच्छाले ब्रम्हाण्डको श्रृष्टि भएको र सोही इच्छाबाट प्रेरित भएर तीन देवता ब्रह्मा, विष्णु, शिव प्रकट भएको उल्ल्ेख छ । शिवबाट सत्व, रज, तम तीन गुणबाट युक्त माया वा ‘प्रकृति’ उतपन्न भएको र ‘सो मायालाई कसैले जित्न सक्दैन’ लगायत प्रकृतिबाटै प्रलय श्रृष्टि हुने, प्रकृति वा मायादेखि भिन्न अशान्तिपद, माया वा प्रकृतिदेखि पर शान्तिपद, शान्तिदेखि पर विद्यापद, विद्यापददेखि पर प्रतिष्ठायुक्तपद वा निवृत्तपद छ र त्यही पदलाई ‘मोक्ष’ पनि भनिन्छ भनि बहुतै क्लिष्ट र दार्शनिक व्याख्यानहरू गरिएका छन् । श्रृष्टिकर्ता श्री ब्रह्मा, पालनकर्ता श्री विष्णु, र संहारकर्ता श्री शिव हुन् भनि यो जगत जीवन चलायमान र अन्तका लागि तीन देव तत्वहरूको भूमिकाको व्याख्या गरिएको छ । द्वितीय अध्ययायमा श्री विष्णुले मधु र कैटभ दुई दैत्यको संहार गरेपछि पृथ्वी र प्रकृतिका अन्य अवयवकोे उत्पति भएको मिथक छ । अष्ट प्रजापति मध्ये दक्ष प्रजापतिका पुत्रीका रूपमा सती देवीको परिचय दिएको छ, श्री स्वस्थानीले । श्री स्वस्थानीको महाग्रन्थको सुरुआती कथा आरम्भ महिला पात्रको रूपमा सतीदेवीलाई चित्रण गरिएको छ । तर, दक्ष प्रजापतिकी स्त्री विरणीकै चरित्र पनि हामीले चर्चा गर्न आवश्यक रहन्छ ।

श्री स्वस्थानीममा वर्णित महिला पात्रहरूमा फरकफरक पात्रका आआफ्नै खासखास चरित्र र विशेषता बारे अब चर्चा गर्ने जमर्को गर्नेछु । श्री महादेवले छल गरी विवाह गरी श्री महादेवकी धर्मपत्नी श्री सतीदेवीको चरित्रबारे बहस गर्दा सतीदेवी आमाबाबाप्रति आस्थावान ज्ञानी र आज्ञाकारी पुत्रीका रूपमा चित्रित छ । तर विवाहोपरान्त छोरी चेलीको अभिभावकका रूपमा श्रीमान्लाई मान्नुपर्ने संस्कारलाई इमानदारीपूर्वक निभाउने स्त्री वा श्रीमतीका रूपमा वर्णित गरिएको छ । र श्रीमानको मान, मर्यादा । आत्मसम्मानका रक्षार्थ बाबु र समस्त समाजसँग विद्रोह गरी आत्मदहन गरेकी सतीदेवीले महिला समस्त समाजलाई महिला मन, महिलाको समर्पण, विद्रोह, त्याग र आत्मसम्मान रक्षार्थ एक नमुना सन्देश दिएकी छन् भन्दा गलत नहोला । अर्कोतर्फ जवरजस्ती बाँधेको सम्बन्धको दुःखान्त शिवजीले सती देवीबाट बिछोडिनु परेको वियोगान्त घटनाले अनुभूति दिन्छ । त्यस्तै विवाह गर्छु भनी सिष्टतापूर्वक छोरी माग्न आउनेलाई अपमान गर्दा त्यसको प्रतिफल श्री सतीदेवीलाई छलपूवर्क हरण गरेको शिव र सतीदेवीको जवरवस्तीको बिहेले के देखाउँछ भने कसैको पनि आत्मसम्मानमा ठेस नपु¥याउनु र अपमान नर्गनु । दोसो पात्र विरणी श्रीमान्का परम पति परायण महिलाका रूपमा चित्रित छ । श्रीमानले जस्तोसुकै अपराध गरे पनि महिलाहरूले सहजै माफ गरी दिन्छन्, एक श्रीमतीका लागि श्रीमान् नै सर्वोपरी हुन् भन्ने विरणीको चरित्रले देखाएको छ ।

दोश्रो मुख्य पात्र श्री पार्वती छिन् । जसले मातापितासँग विद्रोह गरेर आपूmलाई मन परेका पुरुष श्री शिवजीसँग तीर्थ व्रत तप गरी प्राप्त गरेको प्रसंगले श्री पार्वती एक विद्रोही र समस्त महिला जगतकै उन्मुत्तिका लागि एक उदाहरणका रूपमा खरिएकी छिन् भने एक चलाख पति परायण र समयानुकुल व्यवहार गर्न सक्ने खुबी भएकी आदर्श महिलाका रूपमा दरिएकी छिन् । जसले श्रीमानलाई तह लाउन अनेक भाउ र भेषमा पछिपछि लागेर श्रीमानको हितमा प्रस्तुत भएको र श्रीमानका हरेक असल खराब काममा प्रश्न नगर्ने, सौता नै भए पनि एक महिला भएकै कारण सौताका पनि सुख दुःखमा संवेदनशील रहेको प्रसंग गोमाले शिवजीले त्याग गरेपछि ‘हे स्वामी गोमा पनि हजुरकि श्रीमती हुन्, उनलाई पनि दुःखबाट पार गरी दिनुहोस्’ भनी गरेको आग्रह र याचना गरी गोमालाई पनि सप्तर्षिहरू पठाई श्री स्वस्थानीको व्रत राख्न र आफना छोरा नवराजसँगको बिछोडबाट उन्मुत्ति मात्र होइन शंखरापुरकी महारानीसमेत बन्ने अवसर दिलाउन सहजीकरण गरिदिएको महाग्रन्थको प्रसंगबाट श्री पार्वती एक साधारण महिलाभन्दा माथि रहेकी एक दयालु ममतामयी र मानवतावादी महिलाका रूपमा चित्रण गरिएको छ । श्री पार्वतीकै कथा प्रसंगमा एक महिला वृन्दाको प्रसंग आउँछ । तर ग्रन्थका अन्य महिला चन्द्रावती र वृन्दाका विषयमा चित्रण गर्दा यी दुई महिला अत्यन्त असहिष्ण्ुा र अर्मादित र असामाजिक लाग्छ ।

वृन्दा आफँै पनि महिला भइकन पनि अत्यन्त ईष्र्यालु देखिन्छ । आफना श्रीमानलाई परस्त्री गमन गर्न उक्साउने वृन्दाको आफ्नै ईष्र्या र डाहाडे स्वभावका कारण नै आफ्ना श्रीमान गुमाउनु परेको र आफनो पनि दुःखद् अन्त्य भएको कथाबाट अझै पनि वृन्दाकै स्वभावका स्त्रीहरूले के पाठ सिक्ने त ? भन्ने अदृश्य सन्देश दिएको छ । चन्द्रावतीको सन्दर्भमा धनी घरकी कुल मर्यादाकी पुत्री भए पनि संस्कार नभएकी, निष्ठुर र घमण्डी महिलाका रूपमा चित्रण गरिएको छ । हाम्रा समाजमा चन्द्रावती स्वभावका बुहारीको पनि अवशेष छ र रही रहन्छ पनि । तर चन्द्रावतीको स्वभाव परिवर्तनमा दुई ब्राह्मण पुत्रले यति दुःख पाएर पनि चेत नपाएकी पापिनी भनी सम्झाएपछिको अवस्थाले सघाएको देखिन्छ । अन्तमा स्वर्गकी अप्सराहरूबाट श्री स्वस्थानीको व्रत राखेपछि आफना कुष्ठ रोगबाट उन्मुक्ति मिलेको श्रीमान नवराजसँग भेट भएको र शंखरापुरकी रानी बन्ने सौभाग्य प्राप्त भएको देखाएको छ ग्रन्थले । यहाँ दुई महिला पात्र चन्द्रावतीको अन्त्य सुखान्तमा देखिन्छ भने वृन्दाको अन्त्य वियोगान्त देखाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया