काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले युरोपको आधा जनसंख्या ओमिक्रोनको चपेटामा पर्न सक्ने चेतावनी दिएको छ । आगामी ६ देखि ८ हप्तामा आधा युरोप ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित भइसक्ने डब्ल्युएचओले प्रक्षेपण गरेको हो । डब्ल्युएचओका बरिष्ठ चिकित्सक डा.हान्स क्लुगले डेल्टा भेरियन्टसँगै पश्चिमबाट पूर्वतर्फ ओमिक्रोन पुरै फैलिसकेको भन्दै निकट भविष्यमा आधा युरोप प्रभावित हुने दाबी गरेका हुन् ।
सन् २०२२ को पहिलो हप्तामा युरोपमा ७० लाख नयाँ सङ्क्रमित थपिएको आधारले यो प्रक्षेपण गरिएको उनको भनाइ छ । डा. क्लुगेले पत्रकार सम्मेलन गरी सन् २०२१ मा विश्वका कैयौं राष्ट्रहरुले डेल्टा भेरिएन्ट नियन्त्रणका लागि गरेको अथक प्रयासले नियन्त्रण सफल भएपनि ओमिक्रोन महामारी नियन्त्रणका लागि चुनौती थपिएको बताएका छन्।
दुई हप्ताको अन्तरमा सङ्क्रमितको सङ्ख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । डा क्लुगका अनुसार सियाटलमा आधारित इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसनले युरोपका ५० प्रतिशत जनसङ्ख्या आगामी ६ देखि ८ हप्तामा ओमिक्रोनबाट सङ्क्रमित हुने पूर्वानुमान गरेको छ ।
पछिल्ला अध्ययनले ओमिक्रोनले मानिसहरूलाई गम्भीर बिरामी बनाउने सम्भावना काम रहे पनि यसअघिका भेरियन्टभन्दा यो निकै सङ्क्रामक रहेको पाइएको छ । पूर्ण मात्रामा खोप लगाएका व्यक्ति समेत ओमिक्रोनको शिकार हुने भन्दै डब्ल्युएचओले कत्ति पनि लापरवाही नगर्न सबैलाई अनुरोध पनि गरेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया