ओखलढॅुगाः ओखलढुंगाको लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापाले सरकारी सवारी प्रयोग नगर्ने घोषणा गरेकी छन् । गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित भएपछि उपाध्यक्षलाई प्राप्त सवारी एम्बुलेन्स बनाउनु भएकी थापाले पालिकामा नयाँ एम्बुलेन्स आएपछि उपाध्यक्षलाई फिर्ता भएको सवारी प्रयोग नगर्ने बताएकी हुन् ।
उपाध्यक्ष थापाले सर्वसाधारण नागरिक सँगै सार्वजनिक सवारीमा यात्रा गर्ने बताइन् । अत्यावश्यक कामका लागि मोटरसाइकल र सार्वजनिक सवारी प्रयोग गरेर पालिकाको काम गर्ने तर पालिकालाई खर्चको भार थपेर सरकारी सवारी नचड्ने उनको भनाई छ । ‘म निर्वाचित हुँदा पालिकामा एम्बुलेन्स थिएन । मलाई प्राप्त सवारी नै एम्बुलेन्सको रुपमा चलाएँ । अहिले हामीले एम्बुलेन्स ल्याइसकेका छौं अब पनि म सरकारी सवारी नचड्ने निर्णयमा छु ।’ उपाध्यक्ष थापाले भनिन्–‘जनताभन्दा फरक जीवन जिउनू छैन,भर अभरमा जतिबेला जुनसुकै साधनबाट पनि उपलब्ध हुने नै छु । जनताको भरोसा टुट्न नदिने र सिमित साधन स्रोतबाट मितव्यवयी बन्दै अधिकतम सेवा दिने प्रयास जारी रहनेछ ।’ अत्यावश्यक काम बाहेक अरु समय एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिएको सवारीबाट करिब ७ महिनामा पालिकाबाट छिमेकी जिल्लामा उपचारका लागि ८ जना र काठमाण्डौंसम्म उपचारका लागि ७ जना सर्वसाधारणलाई निःशुल्क सेवा लिएका छन् ।
पालिकाको गाडी उपाध्यक्षले एम्बुलेन्सका रुपमा उपब्ध गराउँदा उपचारका लागि जिल्ला बाहिर जान सहज भएको स्थानीयले बताएका छन् । उपाध्यक्ष थापाकै पहलमा पालिकाले नयाँ एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएको छ ।
८ स्थानीय तह रहेको ओखलढुंगाका सबैजसो जनप्रतिनिधिले सरकारी सवारी साधन प्रयोग गर्दै आएका छन् । मेयर–उपमेयर र अध्यक्ष–उपाध्यक्षले सुविधासम्पन्न गाडी र वडाअध्यक्षहरुले मोटरसाइकल प्रयोग गर्दै आएका छन् ।
@भिजन समाचार बाट
फेसबुकबाट तपाइको प्रतिक्रिया