नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबाट सरकार गठन हुँदा पहिलो कार्यकालको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबेदारी प्रस्तुत गरेका छन्।

आफूलाई भेट्न पुगेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँगको कुराकानीमा प्रचण्डले पहिलो कार्यकालमा आफू नै प्रधानमन्त्री बन्नुपर्ने बताएका हुन्।
पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको ‘सन्देश’सहित सिंह प्रचण्डलाई भेट्न शुक्रबार बिहान खुमलटार पुगेका थिए। नेता सिंहले प्रधानमन्त्रीको पहिलो कार्यकाल देउवालाई छाडिदिन आग्रह गरेका थिए।
तर, जवाफमा प्रचण्डले पहिलो कार्यकालको नेतृत्व आफूले पाउनुपर्ने र दोस्रो कार्यकालका लागि इमान्दारिताका साथ आफूले नेतृत्व हस्तान्तरण गर्ने बताएको सिंहनिकट स्रोतले जानकारी दियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेको समयसीमा नजिकिँदै गर्दा गठबन्धनका नेताहरु सरकार गठनका लागि छलफलमा जुटेका छन्।

बिहीबार साँझ मात्रै प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको थियो। बिहीबारको छलफल सकारात्मक
भएको भन्दै नेताहरुले शुक्रबार पनि भेटवार्ता हुने बताएका थिए।
शुक्रबार हुने भनिएको भेटवार्ता अगाडि सिंह प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि आइतबार अपराह्न ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरेकी छन्।
फेसबुकबाट तपाइको प्रतिक्रिया