राईनासःचम्पावती हाइड्रोपावर लिमिटेडले लमजुङ र गोरखाको सिमाना चेपेनदीमा निर्माण गरिरहेको चेपे ए जलविद्युत आयोजनाको काम तत्काल रोकी डिजाइन परिवर्तनको माग गर्दै लमजुङको राइनास नगरपालिकाका स्थानीयले आन्दोलन थालेका छन् ।
७ मेगावाट क्षमताको उक्त आयोजनाले राइनास क्षेत्रको गौरवको योजना राइनासटार सिंचाई योजनालाई प्रभावित पार्ने भन्दै राइनास नगरपालिका १ देखि ७ सम्मका उपभोक्ताहरुले शनिबार साइट कार्यालय रहेको गोरखाको सिनानचोक गाउँपालिका २ कुविन्डेमा आन्दोलन गरेका छन् । सिंचाई योजनाका उपभोक्ताहरुले आफूहरुले प्रयोग गर्दै आइरहेको पानीको नहर पूर्ण रुपले बन्द हुने गरि जलविद्युत आयोजनाको पावरहाउस निर्माण भइरहेको भन्दै निर्माण कार्य बन्द गरी डिजाइन परिवर्तनको माग गर्दै प्रदर्शन गरेका छन् । राइनासटार सिंचाई योजना जल उपभोक्ता समितिका कोषाध्यक्ष गोविन्दराज न्यौपानेका अनुसार पटकपटक जलविद्युत आयोजनालाई ध्यानाकार्षण गराउँदा पनि अटेरी गरेपछि आन्दोलन गर्न बाध्य भएको बताउनुभयो ।
उहाँका अनुसार समितिले गत असार २३ गते जलविद्युत आयोजनाको लापरबाहीको बारेमा नगरपालिकामा जानकारी गराएको छ । असोज ५ गते राइनास नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई पनि भएको थियो । उक्त दिनमा जलविद्युत आयोजनाको पावरहाउस सिंचाई योजनाको नहरको इन्टेक भन्दा तल छ र इन्टेकमा पानी जाँदैन भनेर काम बन्द गर्न मौखिक रुपमा भनिएको थियो । त्यसपछि बारम्बार घचघच्याउँदै नगरपालिकाले पनि प्रर्वद्धक कम्पनीलाई पत्राचार पनि गरेको थियो ।
गत असोज २० गते कम्पनीका निर्देशक हरिराम पराजुलीसंग कार्यदल बसेर छलफल समेत भएको बताउनुभयो । वार्तामा स्थानीयको माग अनुसार काम गर्ने सहमति नगरेको बताउनुभयो । स्थानीयले सुरुवात देखि नै पावरहाउस बनेर पानी निस्कदा राइनासटार सिंचाई योजनालाई हित गर्दैन भनेर भन्दै आएपनि सुनुवाई नभएको उहाँको भनाई छ । काम बन्द नगरेपछि तेस्रो पटक आन्दोलनमा उत्रिन बाध्य भएको बताउनुभयो ।
आयोजना निर्माण हुनुभन्दा पहिला नहरको मुहान भन्दा माथि पानी खसाल्ने निर्णय भएपनि हाल मुहान भन्दा तल पानी खसाल्ने गरी निर्माण कार्य अघि बढेको भन्दै कामलाई रोक्न दवाव दिएको स्थानीय कृष्णराज ओलियाले बताउनुभयो । राइनासटार सिंचाई योजनाका करिव १८ हजार उपभोक्ता रहेको र जलविद्युतको पावरहाउसले गर्दा उपभोक्ता मर्कामा पर्ने भन्दै यस विषयमा दवावको अभियान अघि बढाएको उहाँको भनई छ । आयोजनाले मनोमानी ढंगबाट काम अघि बढाउँदा नागरिक प्रभावित हुने भएकाले आयोजनालाई पटकपटक ध्यान केन्द्रीत गरेको र आफूहरुको माग सुनुवाई नभएको बताउनुभयो । वातावरणीय, आर्थिक, सामाजिक, भौगोलिक हिसावले पनि आयोजनाको काम सहि नभएको बताउनुभयो ।
स्थानीय उपभोक्ता इन्जिनियर प्रकाश न्यौपानेले जलविद्युत आयोजनाले ३० बर्ष अघि सम्पन्न भइसकेको योजनालाई प्रभावित पार्ने अवस्था रहेको र नागरिकलाई पेटमा लाद हाल्ने तरिकाले काम भएको बताउनुभयो । पावरहाउस बनाउँदा हिउँदमा सिंचाई योजनाको नहरमा पानी नजाने तरिकाले काम भएको भन्दै कम्पनीले मुनाफाका लागि सरकारले बनाएको योजनालाई तहसनहस पार्न नहुने बताउनुभयो । स्थानीय बलराम घिमिरेले राइनासटार सिंचाई योजनाबाट हजारौं उपभोक्ता लाभान्वित भएको र योजनामा असर पर्दा नागरिकको गाँस खोसिने बताउनुभयो । सिंचाईकै कारण उत्पादनमा आत्मनिर्भर हुन थालेको नागरिकलाई सिंचाई प्रभावित पारेर पीडा दिन नहुने बताउनुभयो ।
राइनास नगरपालिकाका उपप्रमुख पुष्पराज खनालले आयोजनाले आफूहरुको माग सुनुवाई नगरेको बताउनुभयो । डिजाइन भन्दा फरक तरिकाबाट निर्माण भइरहेको भन्दै डिजाइन परिवर्तन गरी काम गर्न भनेपनि अटेरी गरेका कारण नागरिक आक्रोशिष भएको बताउनुभयो ।
राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङका अनुसार जलविद्युत आयोजनाले डिपीआर अनुसार काम नगर्दा नागरिक आन्दोलनमा जान बाध्य भएको बताउनुभयो । नागरिकले पटकपटक माग राख्दै आएको र सुनुवाई नभएपछि साइट कार्यालयमा आन्दोलन गरेका हुन् । आयोजनाले डीपीआर अनुसार काम गरेमा नागरिक शान्त रहने अवस्था आउने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङले यस विषयमा यस अघि पनि पटकपटक कुरा आएको र तत्काल सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो । जलविद्युत आयोजनाका प्रोजेक्ट इन्चार्ज सजलमान सिंहले पावरहाउसको ५० प्रतिशत काम सकिएको बताउनुभयो । डिजाइन अनुसार नै काम भएको जिकिर गर्नुभयो । सिंचाई योजनाको इन्टेक भन्दा माथि खसाल्ने गरी नै काम भएको बताउनुभयो । पावरहाउसका कारण सिंचाई कुनै असर नपर्ने बताउनुभयो ।
नागरिकले आयोजनाको विषयमा जलस्रोत मन्त्रालय, सिंचाई मन्त्रालय, विद्युत विकास विभागमा पनि लिखित प्रस्ताव पेश गरेको छ । विद्युत विकास विभागले पनि विद्युत गृह र टेलरेस विद्यमान राइनासटार सिंचाई योजनालाई प्रतिकुल प्रभाव नपर्ने गरी स्वीकृत प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन तथा प्रतिवेदन स्वीकृतिका शर्तहरु भन्दा फरक नहुने गरी अर्थात् परिवर्तन नगर्ने गरी आयोजना निर्माण गर्न २०७८ साउन ७ गते भनेको थियो । सो अनुरुप नभएको स्थलगत निरीक्षण प्रतिवेदनबाट देखिन आएको भन्दै १५ दिनभित्र सम्बन्धित विवरण पेश गर्न मङ्सिर ८ गते पत्र काटेको छ ।
स्थानीयले मंसिर १६ गते पनि कम्पनीका निर्देशकसंग बसेर छलफल गरेको थिए । १८ गते सर्वपक्षीय भेलाबाट काम रोक्ने निर्णय गरे अनुसार मंसिर १९ गते कार्यालयमा सूचना टाँस समेत गरेको छ । उक्त सिंचाई योजना ८ सय ५० हेक्टर फैलिएको छ । योजनामा नगरपालिकाको वडा नं. १ देखि ७ सम्मका उपभोक्ता छन् । आयोजनाको कार्यालयमा उपभोक्ताहरुले ढुंगामुढा गरेका थिए । तीन तला रहेको कार्यालय भवनको झ्यालका सिसाहरु ढुंगा हानेर फुटाएका छन् । सवारी साधन र टहरामा आगजनी गरेका छन् ।
इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका बरिष्ठ सई पर्शुराम जोशीका अनुसार आगजनीबाट २ वटा मिनि ट्रक जलेको छ । ट्रकमा ३ सय ४० बोरा सिमेन्ट थिए । २ वटा मोटरसाइकल जलेको छ । दुईवटा टहरा जलेको छ । एउटा टहरामा डिजेल र एउटामा मेशिनका पाटपुर्जा राखिएको थियो । कार्यालयभित्र रहेका कम्प्युटर, फर्निचरका सामग्री पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयको आक्रोशका कारण स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीलाई भिड नियन्त्रण गर्न समस्या भएको थियो
फेसबुकबाट तपाइको प्रतिक्रिया