
-मञ्जुल मितेरी
—————-
त्यो अन्तिम मध्यरात
एक्लो, तेल सकिनै लागेको
टुकीको मधुरो उज्यालोभित्र
जब म लेख्दैथिएँ
मेरो सुसाईडल नोटका अन्तिम हरफहरु
हो, त्यति नै बेला जिन्दगी!
तिमीले भनेका थियौ –
‘बॉच्नु सबैभन्दा कठीन संघर्ष हो भने
सबैभन्दा ठूलो जित – जिन्दगी’
मैले टुकी निभाएँ
अनि पर्खिएँ भोलीको उज्यालोलाई
र त बर्षौं भईसक्यो
हर स्वासमा उत्सव मनाईरहेको छु जिन्दगीको
त्यसैले
मेरो जीतको यो उचाईमा तिमीलाई
मेरो जीतको यो गहिराईमा तिमीलाई
बेस्सरी अंगालो हालेर भन्नु मन छ-
‘लभ यू जिन्दगी!’
ह्रदयभित्र जतनले राखेका मायालु नामहरुले
यो छाती चिरी निस्केर जॅादा
अनि उनीहरुकै यादमा
उनीहरु हिंड्ने मूलबाटो छेउमा
बर्षौंबर्ष उभिईरहॅदा पनि
‘कस्तो छौ’ सम्म भनेर नसोधीदिदा
यो छातीभत्रको आकाशमा
घाम उदाउनै छाडेको थियो
एउटा ॲध्यारो पृथ्वी बोकेर
एउटा एक्लो बाटो टेकेर
बिछोड, बिरह, याद र एक्लोपनको सिरेटोमा
असंख्य पीडाको हिउॅले पुरिएर उभिरहॅदा
को थियो र मेरो साथमा
तिमी सिवाय
जिन्दगी!
ती बगरहरुमा म
तृष्णा पिएर उभिरहें
ती लहरहरुमा म
प्यासी प्यासी बगिरहें
तिमी म सॅगसॅगै उभिरह्यौ बगरहरुमा
तिमी म सॅगसॅगै बगिरह्यौ लहरहरुमा
मलाई पर्खिरह्यौ प्यास लुकाएर
लभ यू जिन्दगी!
म फूटपाथमा घिस्रीरहदा
म भोक र प्यासले तड्पिरहदा
म बेहोशीमा चिच्याईरहदा
म रोईरहदा
म आत्तिरहदा
म मात्तिरहदा
छोड्नेहरुले उहिल्यै छोडेर गईसके
तर यी हरेक मोडहरुमा जिन्दगी!
मात्र तिमीले पर्खिरह्यौ मलाई
चुपचाप
त्यो मूलबाटो छेउमा
त्यो मरुभूमिमा
त्यो बन्जर बगरमा
ती भुमरीहरुमा
को थियो र मेरो साथमा तिमी सिवाय
जिन्दगी!
तिम्रा यी सारा गुनहरु बिर्सेर
त्यो अन्तिम मध्यरात
तिमी निदाएको मौका छोपेर
लाग्यो-
सुटुक्क निस्केर कतै टाढा जाउॅ
बिलीन होउॅ अदृश्य हावासॅगै
तर खै कुन मोहले हो कुन्नी
तिमीलाई त्यसरी छाड्नै सकिन
र त
तिमी छौ, म छु
मेरो आयूको अन्तिम बिन्दूसम्म
सम्हालेर लानेछु तिमीलाई सॅगसॅगै
तिमीले भनेजस्तै
संघर्ष गर्नेछु ‘बॅाच्नु’का ती सबै सबै कठिनाईहरुसॅग
र जित्नेछु एउटा जिन्दगी
मेरो यो महासफरमा
तिमी सॅगसॅगै भईरहनू
लभ यू जिन्दगी!
-मञ्जुल मितेरी
फेसबुकबाट तपाइको प्रतिक्रिया