काठमाडौं । ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिताप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रवक्ता डा. प्रकाशशरण महतले आचारसंहिता अव्यावहारिक भएको बताए ।
मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, , ‘गठबन्धनका दलहरु र प्रतिपक्षी दलले समेत प्रधानमन्त्री र मन्त्रीहरुले प्रचारमा जान नपाउने प्रावधान व्यावहारिक भएन भनिरहेका छन् ।’ प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकाले दैनिक भ्रमण स्वाभाविक हुने महतको भनाइ छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसको सभापति तथा मन्त्रीहरु पार्टीको जिम्मेवार पदमा पनि रहेकाले जनमत बनाउन हिंड्नु स्वाभाविक भएको महतको भनाइ छ ।
‘प्रधानमन्त्री हाम्रो पार्टीको पनि सभापति हुनुहुन्छ, मन्त्रीहरु पनि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा हुनुभएको हुँदा आफ्नो पार्टीका पक्षमा जनमत बनाउन हिंड्न नपाउने भन्ने कुरा व्यावहारिक छैन’, महतले भने । अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत हेरेर निर्वाचन आयोगले उक्त व्यवस्थामा लचिलो हुनुपर्ने महतले बताए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया