काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल जस्तो विकासोन्मुख मुलुकमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताउनुभएको छ ।
समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आज काठमाडौँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासमा मुल प्रवाहकरण गर्नुका साथै उनीहरुको सामाजिक, आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान गर्न सामाजिक सेवा आवश्यक रहेको बताउनुभयो । समाज सेवामुखी कार्यक्रमले नयाँ पुस्तालाई समाजसेवामा आकर्षित गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले सबैले आफ्नो निजी स्वार्थ भन्दा माथि उठेर समाजको वृहत्तर हित, कल्याण एवं उत्थानका लागि निःस्वार्थ भावले समर्पित हुन आवश्यक औंल्याउनुभयो ।
गैर सरकारी संघसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यक्ता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी देशको नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न आग्रह गर्दै प्रधानमन्त्री देउवाले गैर सरकारी संस्थाहरुले आफ्ना क्रियाकलाप सञ्चालन गर्दा जनसहभागिता, दीगोपना, मितव्ययिता, स्थानीय आधारमुखी श्रम सीप र प्रविधिको अत्याधिक उपयोगलाई प्रोत्साहन गर्नसके गैरसरकारी संस्थाको आवश्यक्ता र अपरिहार्यता बढ्ने धारणा राख्नुभयो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया