उम्मेदवारले चुनाव प्रचारका लागि डेढ महिनाको समय पाउने

काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उमेदवारले आफ्नो प्रचार प्रसारका लागि डेढ महिनाको समय पाउने भएका छन् ।निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मनोनयन असोज २३ गतेका लागि तोकिएको छ भने निर्वाचन मंसिर ४ गते हुँदैछ । निर्वाचन आयोगले यस कार्यतालिकामा केही हेरफेर हुन सक्ने जनाएको छ। निर्वाचन आयोगका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उमेदवारी दर्ताको समय तय भएको छ । सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचन आयोगले आन्तरिक प्रयोजनका लागि अहिले कार्यतालिका बनाएको उल्लेख गर्दै केही तलमाथि गरेर अन्तिम रुप दिइने जनाए । उनका अनुसार यो कार्यतालिकाले अन्तिम रुप पाएपछि सार्वजनिक गरिनेछ ।

प्रत्यक्षतर्फका उमेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुनेछ । असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुनेछ । असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति हुने कार्यतालिका छ । असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने आयोग स्रोतले जनाएको छ ।

असोज २८ गतेदेखि मंसिर १ गतेसम्म मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उमेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ ।मंसिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइनेछ । मंसिर ४ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभातर्फ ३३० जनप्रतिनिधि निर्वाचित हुनेछन् । समानुपातिकतर्फ ११० जना प्रतिनिधि सभा सदस्य तथा २२० जना प्रदेश सभा सदस्य निर्वाचित हुनेछन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया