
काठमाडौँ। वैकल्पिक शिक्षाको अभियान्ता सूर्यबहादुर राईले डा. बाबुराम भट्टराईको साथ छाडेका छन्। डा. भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेको केही समयपछि राईले सो पार्टीमा नरहेको स्पष्ट पारेका छन्। भट्टराई निकट राई नवगठित नेपाल समाजवादी पार्टीमा आवद्ध हुने अनुमान गरिएको थियो।
भट्टराई जसपाबाट अलग हुनु अगाडि राई जसपाका केन्द्रीय सदस्य थिए। तर, उनले आइतबार सामाजिक सञ्जालमार्फत नेपाल समाजवादी पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन्। भट्टराईको साथ छाडेपनि समावेशी, सुशासन र समृद्धिको लागि बैकल्पिक राजनीतिको यात्रा भने जारी राख्ने राईले बताएका छन्।
राईले बैकल्पिक शक्तिको उदयका लागि नयाँ सोचका साथ देशव्यापी अभियान सञ्चालन भइरहेको प्रतिक्रिया दिए। ‘नेपालको आर्थिक, सामाजिक अवस्था परिवर्तनको अभियानमा सामेल हुनुपर्छ भन्ने सोच आयो। यसै सोचका साथ उत्साहित भएर बैकल्पिक राजनीतिक यात्रा तय गरियो। यो यात्रामा बैकल्पिक राजनीतिको गन्तव्य ठिक ढंगले अगाडि बढेन।
यस अभियानमा पनि वैचारिक तथा व्यवहारिक विचलन देखियो। बैकल्पिक सोच नै विघटनको दिशातिर उन्मुख भयो,’ राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर, मुलुकमा बैकल्पिक राजनीतिको आवश्यकता झनै बढेर गएको छ। अब यसै विचार र मुद्धा कै आधारमा अगाडि बग्ने निष्कर्षमा पुगेँ। हाम्रा मुल मुद्दाहरु समाबेसी, सुशासन र समृद्धिको लागि बैकल्पिक राजनीति यात्राबाट कत्ति पनि विचलित भएको छुइँन।’
राईले कृषिविद् मदन राईसँगको सहकार्यमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा शुभम फाउण्डेसनमार्फत व्यवहारिक शिक्षाको अभ्यास गर्दै आएका छन् । कृषिविद् राईले शनिबार नै डा. भट्टराईसँगको साथ छाडेको घोषणा गरिसकेका छन्। यस्तै, जसपाका नेता मोहन गुरुङले पनि राजनैतिक एजेण्डा कायम राख्नेगरी स्वतन्त्र भएको घोषणा गरेका छन्।
फेसबुकबाट तपाइको प्रतिक्रिया