राहदानी विभागले बहाल अवधि १ वर्ष भन्दा बढी भएका राहदानीको नवीकरण गर्न नसिकने:

काठमाडौ:राहदानी विभागले बहाल अवधि १ वर्ष भन्दा बढी भएका राहदानीको नवीकरण गर्न नसिकने जनाएको छ। राहदानी ऐन, २०७६ को दफा (१२) मा राहदानी बाहकको नाममा जारी भएको राहदानीको बहाल अवधि १ वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी जारी नगर्ने व्यवस्था रहेको छ। हाल केही सेवाग्राहीहरुले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को बहाल म्याद १ वर्षभन्दा बढी रहेको अवस्थामा पनि राहदानी नवीकरण गर्न आउने गरेको विभागले जनाएको छ। 

विभिन्न एजेन्सीहरुले २ वा ३ वर्ष भन्दा बढी बहाल म्याद भएको राहदानी उपलब्ध गराएमा मात्र विदेश जान भिसासम्बन्धी प्रक्रिया अघि बढाउने जानकारी दिएकोले नयाँ विद्युतीय राहदानी बनाउनु पर्ने भनी विभागमा आवेदन दिन आउने र नयाँ राहदानी बनाइदिन अनुरोध गर्ने गरेको पाइएको छ। 

राहदानी ऐनअनुसार राहदानीको बहाल अवधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी नवीकरण नहुने तथा नयाँ राहदानीको लागि आवेदन गर्न नसकिने भएकोले राहदानी विभाग, जिल्ला प्रशासन कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुमा आवेदन नगर्न विभागले अनुरोध गरेको हो। 

यन्त्रवाचक राहदानी (एमआरपी) को बहाल अवधि १ वर्षभन्दा कम भएमा मात्र राहदानी नवीकरणको लागि विद्युतीय राहदानीमा आवेदन गर्न सकिने भिवागले जनाएको हो।  ‘राहदानीको वहाल म्याद ६ महिना भन्दा बढी भएमा अन्तर्राष्ट्रिय यात्रा गर्न सकिने हुन्छ। राहदानी आफूलाई आवश्यक नहुँदाको अवस्थामा बहाल म्याद १ वर्षभन्दा कम वा बहाल म्याद समाप्त भएपनि तुरुन्त बनाउनु नपर्ने र यसरी नबनाउँदा कुनै अतिरिक्त शुल्क नलाग्ने भएकोले आफूलाई आवश्यक पर्दा मात्र राहदानी बनाउनको लागि आवेदन गर्न सकिन्छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 
@nepallive.comबाट साभार!

फेसबुकबाट तपाइको प्रतिक्रिया