भक्तपुर । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले नवनिर्वाचित जनप्रतिनिधि दलगत स्वार्थ भन्दा माथि उठेर साझा चरित्र निभाउनुपर्नेमा जोड दिनु भएको छ । सबैको भावना समेटेर निष्पक्ष काम गरेकै कारण नगरका हरेक निर्णयहरु सर्वसम्मत भइरहेको बताउँदै मेयर थापाले बुधबार आयोजीत पत्रकार सम्मेलनमा बोल्दै आफ्नो बलबुताले भ्याएसम्म नगरपालिकालाई सम्बृद्ध र देशकै उत्कृष्ट नगरपालिका बनाउन प्रयास गर्ने बताउनु भयो ।
ऐन कानुन, नीति तथा नियम बनाएर निष्पक्ष ढंगबाट काम गरेकै कारण सर्वसम्मत निर्णय हुने गरेको उहाँको भनाइ छ । मेयर थापाले पहिलो कार्यकालमा समेत १२२ वटा कार्यपालिका बैठक र १० वटा नगर सभा समेत सर्वसम्मत गर्न सफल हुनु भएको थियो ।
त्यस्तै, मेयर थापाले सबैको साथ र सहयोगले मात्र सूर्यविनायकलाई समृद्ध नगर बनाउन सकिने आफ्नो स्पष्ट दृष्टिकोण रहेको बताउँदै जनप्रतिनिधि भएपछि कुनै एक पार्टीको नभई जनताको हितमा काम गर्नुपर्छ भन्ने भावनाले अगाडि बढेको बताउनु भयो ।
मेयर थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट जनमुखी ल्याएको पनि बताउनु भयो । दोस्रो कार्यकालमा पार्टी र जनताले निर्वाचीत गराएपछि बाँकि रहेका अधुरा योजनालाई पूरा गर्नु आफ्नो प्रमुख दायित्व भएको र सोही अनुसार अगाडि बढेको उहाँले स्पष्ट पार्नु भयो ।
यी हुन् नगर अधिवेशनका निर्णयहरु
सूर्यविनायक नगरपालिकाको नगरसभाको एघारौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रम एवं बजेट पारित भई सम्पन्न भएको हो ।
अधिवेशनका निर्णय सार्वजनीक गर्न बुधबार आयोजीत पत्रकार सम्मेलनमा मेयर बासुदेव थापाले अधिवेशनको क्रममा केही कानूनहरुलाई समयानुकुल संशोधन गरिएको जानकारी दिनु भयो ।
त्यस्तै, नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनमा संसोधन गरी बागमती प्रदेश सरकारको स्थानीय सेवा (गठन तथा संचालन) अध्यादेश, २०७८ बमोजिम पदनाम संसोधन सहित मिलान गरिएको छ । नगर प्रमुख थापाका अनुसार नगरपालिकाको निशानाछाप (लोगो) बाट नगरपालिकालाई चिनाउने गरी संसोधन प्रस्ताव समेत पारित गरी लोगो परिवर्तन गरिएको छ ।
साथै नगरपालिकाले सवै निर्णयहरु सर्वसम्मत भएको र जसबाट विकास निर्माण तथा समृद्धिको यात्रामा सूर्यविनायक नगरपालिकाभित्र विगतदेखि रहि आएको मजबूत एकता र सहकार्यको परम्पराले निरन्तरता पाउने निश्चित भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
‘अहिलेको युग सूचना र प्रविधिको युग हो यस कुरालाई मध्येनजर गर्दै हामीले नगरसभा बैठकलाई प्रत्यक्ष प्रशारण गरी सवै नगरबासीहरुलाई सुसूचत गरेका छौं । नगरसभाको नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा संचारकर्मीहरुलाई आमन्त्रण गरि नीति कार्यक्रम र बजेटको विवरण उपलब्ध गराई सकेका छौं । आजको यस पत्रकार भेटघाट कार्यक्रम मार्फत सूर्यविनायक नगरपालिकाको आ।व।२०७९।८० को लागि परित नीति, कार्यक्रम र बजेटमा समावेश भएका प्रमुख विषयहरु यहाँ प्रस्तुत गरिएका छन । यस सम्बन्धी विस्तृत विवरण सूर्यविनायक नगरपालिकाको वेभसाईटबाट हेर्न सकिनेछ’, विज्ञप्तिमा भनीएको छ ।
त्यस्तैगरि, सूचना सम्प्रेषणलाई व्यवस्थित गर्न नगरपालिका भित्र एक सूचना केन्द्र स्थापना गरी नगर कार्यपालिका र वडा कार्यालयहरुबाट सम्पादित कार्यहरुको विवरण संकलन गरेर प्रत्येक १५ दिनमा नगर प्रवता मार्फत सूचना सार्वजनिक गर्ने कार्य तत्काल शुरु गरिने पनि निर्णय गरिएको छ ।
त्यस्तै, नगरपालिकाले उपप्रमुख सरिता तिमिल्सिना भट्टराईको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरेको छ। नगरपालिकाकाको न्यायीक समितिको सदस्यमा विनय महत र वासुदेव पोखरेल चयन हुनु भएको छ । नेपालको संबिधानको धारा २१७ को उपधारा (१) मा उप प्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायीक समिति हुने ब्यबस्था छ ।
पत्रकार सम्मेलनमा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत राजेन्द्र प्रसाद कँडेल, नगर प्रवक्ता रविन्द्र सापकोटा, निर्देशक राजेन्द्रप्रसाद नेपाल, सूचना अधिकारी अनीरुद्र नेपाललगायत विभागीय प्रमुखहरु सहभागि हुनुहुन्थ्यो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया