उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै रोजगारी दिन प्रचण्डको १० बुँदे योजना

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीका नेता तथा कार्यकर्ता अनिवार्य रूपमा १५ दिन श्रमसँग जोडिनुपर्ने प्रस्ताव गरेको छ । काठमाण्डाैमा जारी आठौँ राष्ट्रिय महाधिवेशनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गर्नुभएको वैचारिक तथा राजनीतिक दस्तावेजमा पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव गर्नुभएको हो ।

उत्पादनसँग जोडेर सबै नेता तथा कार्यकर्ताले शारीरिक श्रम गर्नुपर्ने र वर्षमा कम्तीमा पनि १५ दिन त्यस्तो श्रममा सहभागी हुनुपर्ने उहाँको प्रस्ताव छ । दुई घण्टाभन्दा बढी समय लगाएर प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा गएकाे पालिका चुनावमा पार्टीले जित निकालेको पालिका तथा सङ्गठन प्रभावकारी भएको क्षेत्रमा ५०/५० जनाका दरले युवा परिचालन गरी कृषि कर्ममा लगाउने उल्लेख छ ।

अध्यक्ष प्रचण्डले नेपाली मौलिकता र विशेषतासहितको नेपाली पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको उल्लेख गर्दै नेपालको मौलिक विशेषतासहितको समाजवाद निर्माणका लागि अगाडि बढ्ने विषयलाई प्रमुख प्राथमिकता दिनुभएको छ । समाजवाद प्राप्तिको बाटो र प्रक्रिया आफ्नै खालको हुने विषय वस्तुलाई अध्यक्ष प्रचण्डले विशेष जोड दिनुभएको छ । बन्द सत्रमा सहभागी प्रतिनिधिका अनुसार ‘नेपाली मौलिकतासहित पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली विशेषतामा आधारित प्रणाली हो । हामीले स्थापना गर्ने भनेको समाजवाद पनि नेपाली मौलिकताको नै हुनेछ ।’

यस्तै राजनीतिक प्रतिवेदनमा अध्यक्ष प्रचण्डले स्वदेशमा नै युवालाई रोजगारीको वातावरण बनाउने विषयलाई प्रमुख प्राथमिकता दिनुभएको छ । त्यसका लागि केही सरकारी नीति पनि प्रतिकूल रहेको उल्लेख गर्दै उहाँले देशमा उत्पादन र विकास निर्माणको प्रचुर सम्भावना भए पनि सरकारकाे गलत नीतिका कारण अहिले लाखौँ युवा विदेश जान बाध्य भएको बताउनुभएको छ ।

देशमा नै युवालाई रोजगारी सिर्जना गराउन र उनीहरूलाई राष्ट्रिय महाअभियानमा जोड्नुपर्ने उहाँको प्रतिवेदनमा उल्लेख छ । त्यसका लागि पालिका, जिल्ला, प्रदेश र केन्द्रीय सरकारले आफ्नो नीतिमा परिमार्जन गर्दै समन्वयात्मक भूमिका खेल्नुपर्ने प्रचण्डको जोड छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया