
काठमाडौँ । नेपाली सेनाले सफा हिमाल अभियान–२०२२ अन्तर्गत सर्वोच्च शिखर सगरमाथासहित चार हिमालबाट ३३ हजार ८ सय ७७ किलो फोहोर संकलन गरेको छ ।
सरकारको कार्यक्रमअन्तर्गत सेनाले तेस्रो पटक विश्वका ८ हजारभन्दा अग्ला सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लुबाट फोहोर संकलन गरेको हो । यस पटकको गत चैत २२ मा थालिएको अभियान जेठ २२ अर्थात् विश्व वातावरण दिवसका दिन आइतबार सकिएको छ ।
संकलित फोहोरमध्ये कुहिने ७ हजार २ सय २७ किलो स्थानीय गाउँपालिका तथा नकुहिने २६ हजार ६ सय ५० केजी रिसाइकल एजेन्सीलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ । अभियानका दौरान कञ्चनजंघा आधार शिविरमा फेला परेका मान्छेका दुई अस्थिपञ्जर कानुनी प्रक्रियाका लागि ताप्लेजुङस्थित जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको थियो ।
सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले हिमाल सफाइका क्रममा सगरमाथा, ल्होत्से तथा सेनाका तर्फबाट प्रथम पटक कञ्चनजंघा हिमाल सफलतापूर्वक आरोहण गर्ने ७ जनालाई प्रोत्साहनस्वरूप प्रधानसेनापति प्रशंसा निसान हस्तान्तरण गरे ।
फेसबुकबाट तपाइको प्रतिक्रिया