यसपालिको मनसुनमा विगत भन्दा बढी वर्षा हुने, बाढी, पहिरोबारे पूर्वतयारी गर्न आग्रह

काठमाडौँ । यसपालिको मनसुनमा अघिल्ला वर्षमा भन्दा बढी वर्षा हुने जल तथा मौसन विज्ञान विभागले जनाएको छ । मनसुन आगामी असोज ४ गतेसम्म रहने छ । बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिको सम्भावनालाई ध्यानमा राखी पूर्वतयारी थाल्न सरोकारवाला निकायलाई विभागले अनुरोध गरेको छ ।

विशेष गरी प्रदेश १ का तराईका भू-भाग, बागमती प्रदेशका उत्तर–पूर्वी भू-भाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर–पश्चिमी भू-भाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भू-भागमा औसतभन्दा बढी वर्षाको सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको जनाइएको छ ।

यसले पूर्वी तराईमा बाढी र डुबानकासाथै पहाडी भेगमा पहिरोको जोखिम बढाउनेछ । त्यस्तै सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्य भू-भाग, गण्डकी प्रदेशका मध्य–पश्चिमी भूभाग र प्रदेश १ को मध्य भूभागमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशत देखि ५५ प्रतिशत रहेको छ ।

गण्डकी प्रदेशका उत्तरी भू-भाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भू-भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ भने प्रदेश १ का उत्तरी भूभाग, बागमती प्रदेशका दक्षिणी भूभाग र मधेश प्रदेशका अधिकांश भू-भागमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया