सूर्यविनायकका मेयर थापाको प्रस्ताव: महिनामा कम्तिमा एक पटक जिल्लाका मेयरहरुबीच भक्तपुरको समृद्धिका विषयमा छलफल गरौ

भक्तपुर: सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पत्रकारले सत्य, तथ्य र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनु भएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाले आयोजना गरेको भक्तपुरका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मेयर थापाले पत्रकारले कसैलाई हतोत्साही पार्ने नभई खबरदारी गर्नु पर्ने र सत्य तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्नु पर्नेमा जोड दिनु भएको हो ।

पत्रकारले प्रमाण पुगेको विषयलाई लेख्नुपर्ने तर बीना आधार तथा हचुवाको भरमा भने समाचार सम्प्रेषण गर्न नहुने उहाँको भनाइ छ । मेयर थापाले आफ्नो पहिलो कार्यकालमा भक्तपुर पत्रकार महासंघ र भक्तपुरका पत्रकारहरुले सूर्यविनायक नगरपालिकालाई सहयोग गरेको महसुस आफुले गरेको बताउनु भयो । आफुहरु इतिहास कोर्न आएकाले पत्रकारको भुमीका महत्वपुर्ण रहेको उल्लेख गर्दै कुनै काम विर्गन लाग्यो भने पत्रकारले खबरदारी गर्न भने चुक्न नहुने बताउनु भयो ।

‘साना तीना कमी कमजोरी छन् भने सुधार्न एक पटक मौका दिनुपर्छ तर जनतालाई धोखा दिने, ब्यक्तीगत स्वार्थमा लाग्ने, ठुल्ठुला अपराध गर्नेको विरुद्ध भने पत्रकारले कसैलाई छाड्नु हुँदैन’, उहाँले भन्नु भयो ।

‘सूर्यविनायक नगरपालिका यो अवस्थामा आउनुमा पत्रकारको पनि ठुलो सहयोग छ । पत्रकारले चाहिने नचाहिने लेखीदने, मनोेबल गिराउने र हत्तोसाहित गराउने काम गरेको भए नगरपालिका यो स्थितिमा पुग्ने थिएन’, उहाँले भन्नु भयो, ‘पहिलो पाँच वर्षे कार्यकालमा पत्रकारको साथ र सहयोग रहेकै कारण कार्यकाल सफल भएको महसुस गरेको छु । साथै आगामी दिनमा पनि यस्तै सहयोग रहने अपेक्षा गरेको छु ।’

पत्रकार महासंघ भक्तपुरको भवन निर्माणको लागि नगरपालिकाले स्वीकृति दिएको बताउँदै भवन निर्माणमा ब्यक्तीगत तथा संस्थागत जुनसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिबद्धता ब्यक्त दिनु भयो । पत्रकार महासंघ तथा पत्रकारप्रति आफुले मन बढाएर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने उहाँले स्पष्ट पार्नु भयो ।

त्यस्तै मेयर थापाले भक्तपुरका सबै नगरपालिकाका मेयरहरुले कम्तिमा महिनाको एक दिन जिल्लाको विकासलाई कसरी अगाडि बढाउने भन्ने विषयमा एकजुट भएर छलफलमा जुट्नुपर्ने बताउनु भयो ।

‘अब चुनावमा कुन पार्टी, कुन चिन्ह्रबाट उठ्यौ भन्ने कुरा बिर्सौ’, उहाँले थप्दै भन्नु भयो, ‘पाँच वर्षपछि फेरि चुनावमा जाऊला, त्यो भन्दा अघि हामी अग्लो होचो, जात जाती, ऐन, कानुन, नीति र नियम भन्दा बाहिर गयौ भने जनताले सराप्ने छन् र विकास निर्माणको काम गर्न सक्दैनौ । त्यसैले हामी सबै एकजुट भएर भक्तपुरको विकासमा लाग्नुपर्छ ।’

साथै उहाँले पत्रकार महासंघले पहिलो कार्यकालमा निर्वाचीत भएपछि पनि सम्मान गरेको स्मरण गर्दै महासंघप्रति धन्यवाद ज्ञापन गर्नु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया