खेतीपातीको सिजनका बेला कर्णालीमा रासायनिक मलको अभाव

काठमाडौँ । खेतीपातीको सिजनका बेला कर्णालीमा रासायनिक मलको अभाव भएको छ । खेतीपातीको सिजन सुरु भएसँगै वर्षेनी कर्णालीमा मल अभावको समस्या हुँदै आएको छ । विगतका वर्षझैँ कर्णालीका कृषकले यसपालि पनि मल नपाउने भएका हुन् । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतमा अहिले एक सय ५० टन डिएपी र १० टन पोटास मौज्दात रहँदा युरिया मलको अभाव छ ।

दैनिक वितरणको अवस्था हेर्ने हो भने कम्पनीसँग १० दिनलाई मात्र पुग्ने युरिया बाहेकको मल बाँकी छ । चालु आर्थिक वर्षको मंसिर मसान्तमा ६ सय ३५ टन डीएपी मल आएकोमा पाँच सय ३० टन विक्री भएको छ ।

युरिया चालु आर्थिक वर्षको मंसिर मसान्तमै ८ सय ९४ टन आएकोमा गत चैत २३ गते नै सकिएको छ । अहिले कम्पनीसँग युरिया मल छैन ।कृषि सामाग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतले गत मंसिरमै आएको ७३ टन पोटास मल ६३ टन विक्री भइसकेको जनाएको छ ।

कम्पनीले कर्णाली प्रदेशका सल्यान र रुकुमबाहेकका आठ जिल्लामा दर्ता भएका १०८ सहकारी संस्थामार्फत मल वितरण गर्दै आएको छ । कर्णालीमा युरिया मल बढी खपत भए पनि साबिक कर्णाली अञ्चलमा रासायनिक मलको प्रयोग कम हुने गरेको कार्यालयले जनाएको छ ।

हाल साल्ट ट्रेडिङ्गमा पनि युरिया मलको अभाव छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया