सूर्यविनायकको नगर प्रमुखमा दोस्रो कार्यकाल विजयपछि बासुदेव थापाले भन्नु भयो – मैले ब्यक्त गरेका वाचा खेर जान दिने छैन

भक्तपुर। सूर्यविनायक नगरपालिकामा मेयरमा विजयी हुनु भएको बासुदेव थापाले नगरबासीमाझ ब्यक्त गरेको वाचा इमानदारीताका साथ पुरा गर्ने बताउनु भएको छ । नगरस्तरीय विजय जुलुसपछि आयोजना गरिएको सभालाई सम्बोधन गर्नुहुँदै मेयर थापाले आफुले निर्वाचनमा ब्यक्त गरेका वाचा खेर जान नदिने विश्वास दिलाउनु भएको हो ।

उहाँले भन्नु भयो, ‘मैले पहिलो कार्यकालमा बाँकि रहेका अधुरा योजना र घोषणापत्रमा ब्यक्त गरेका हरेक प्रतिबद्धता पुरा गर्न इमानदारीताका साथ लागिपर्नेछु, हामीले जिताइहाल्यौ भनेर चुप लागेर नबस्नु होला, बेला बेलामा सचेत भने गर्न नभुल्नुहोला ।’

उहाँले नगरबासीको समृद्ध सूर्यविनायक बनाउने सपना साकार पारिछाड्ने समेत बताउनु भयो । बोलेर भन्दा पनि काम गरेर देखाउने आफ्नो स्वभाव रहेको बताउँदै मेयर थापाले दोस्रो कार्यकालमा सम्पुर्ण नगरबासीको पुर्ण सहयोग हुने विश्वास पनि ब्यक्त गर्नु भयो । उहाँले सो अवसरमा विजयी गर्न सहयोग गर्नुहुने सबैमा धन्यवाद समेत ब्यक्त गर्नु भयो ।

एमालेले नगरमा मेयर, उपमेयर सहित ३३ सिट जितेको छ । पार्टी कार्यालय सूर्यविनायकबाट शुरु भएको विजय जुलुस सल्लाघारी, अरनिको हाइवे हुँदै चक्रपाणी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । विजय जुलुसमा नेता तथा समर्थकको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो।

फेसबुकबाट तपाइको प्रतिक्रिया