भारतीय प्रधानमन्त्री भोली नेपाल आउदैं, स्वागतको तयारी पूरा

लुम्बिनी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तयारी पूरा भएको छ । लुम्बिनी विकास कोषले बुद्धपूर्णिमाका दिन भोली आइपुग्ने भारतीय प्रधानमन्त्रीको स्वागतका लागि आवश्यक धेरैजसो तयारी पूरा भएको जनाएको छ ।

कोषका अनुसार शनिबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनीको सुरक्षा व्यवस्था र आवश्यक तयारी निरीक्षण गर्दै कोषका पदाधिकारी र सुरक्षा निकायका प्रमुखसित छलफल गरेका थिए । केही दिनअघि नै भारतबाट पनि उच्च सुरक्षा अधिकृत आइसकेको कोषले बताएको छ । भौतिक संरचना निर्माण र सजावटका अलावा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र र मायादेवी मन्दिर सिंगार्ने काम पूरा भइसकेको छ ।

मोदीको स्वागतका लागि लुम्बिनीलाई सिंगारिएको छ । मायादेवी मन्दिरको भित्र र बाहिर रंगरोगन गरिएको छ । बाहिरी पुरातात्त्विक संरचनालाई फूलले सजाएर आकर्षक बनाइएको छ । मन्दिर परिसरभित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाइ गरेर चिटिक्क बनाइएको छ । बाटोघाटो सफा गरेर सुन्दर बनाइएको छ । मन्दिरलाई झिलीमिली बत्तीले ढाकिएको छ । पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती राखिएको छ । लुम्बिनी गुरुयोजनाको भैरहवा तौलिहवा सडक खण्डअन्तर्गत एक किमि कालोपत्रे बाटाका दुईतर्फ नेपाल, भारत र बौद्ध धर्मावलम्बनीको झन्डा टाँगिएको छ ।

त्यस्तै पर्सा चोकदेखि महिलबारसम्म पनि पोलमा नेपाल, भारत र बौद्ध धर्मावलम्बीको झन्डा टाँगिएको छ । मोदी र देउवाका लागि अन्तर्राष्ट्रिय सभा हलअघि कालोपत्रे बाटो र ९ नम्बर गेटअघि ठूला स्वागत द्वार बनाइएको छ । ९ नम्बर गेट हुँदै भारतले बनाउन लागेको बिहारसम्म मोदी पुग्ने बाटो पनि बनाइएको छ । कालोपत्रे नभए पनि राम्रो बेस बनाएर बाटो चिटिक्क बनाइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया