मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकाअन्तर्गत नेपालीरिका होटेलमा नेपाल–भारत जिल्ला सीमा समन्वय बैठक बिहीबार सम्पन्न भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र भारत, अररिया जिल्लाका डीएम प्रशान्तकुमार सीएचसहित भारतीय प्रहरी अधिकृतको उपस्थिति थियो ।
यही वैशाख ३० गते नेपालमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका सन्दर्भमा भएको बैठकमा निर्वाचनअघि ७२ घण्टा सीमा बन्द गर्ने, तस्करी नियन्त्रण र संयुक्त रूपमा सीमा गस्ती परिचालनका विषयमा विस्तृत छलफल भएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।
उनका अनुसार निर्वाचनमा कुनै पनि किसिमको आपराधिक घटना हुन नदिन, खुला सीमाका कारण नेपालमा हुन सक्ने आपराधिक घटनालाई रोक्न, निर्वाचन भयरहित, स्वच्छ, स्वतन्त्र एवं पारदर्शी रूपमा सम्पन्न गर्न भारतीय सुरक्षा अधिकारीसँग छलफल गर्न बैठक आयोजना भएको र यसमा दुवै देशका सुरक्षा निकायले इमानदारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता जाहेर भएको जानकारी दिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया