गेलूमा एमालेलाई नजिस्क्याउन प्रतिपक्षी दललाई कृष्णहरि अधिकारीको चेतावनी

रामेछाप । मन्थली नगरपालिकामा एमालेका उम्मेदवारले विकास र राष्ट्रिय स्वाधीनताको लागि एमालेलाई जिताउन आग्रह गर्नुभएको छ ।

नेकपा एमाले मन्थली नगर कमिटीले बुधबार मन्थली–१२ गेलुमा आयोजना गरेको चुनावी सभामा बोल्दै उहाँहरूले एमाले बाहेक अन्य दलले विकासको काम गर्न नसक्ने बताउनुभयो । कार्यक्रममा बोल्दै एमालेको मेयरका उम्मेदवार लब श्रेष्ठले गएको स्थानीय तह निर्वाचनमा गरेका प्रतिबद्धता अनुसारका केही काम पूरा गर्न बाँकी रहेकोले ती काम पूरा गर्न फेरी एमालेकै स्थानीय तह आवश्यक रहेको बताउनुभयो ।

गएको स्थानीय तह निर्वाचनमा पनि मन्थली नगरपालिका प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको थियो । विगतमा कानुन निर्माण तथा भौतिक पूर्वाधारका केही काम भएका बताउँदै श्रेष्ठले अब त्यसलाई प्रभावकारी कार्यान्वयन गरी नागरिकको सेवा र नागरको विकास गर्ने बताउनुभयो ।

श्रेष्ठले शिक्षा, स्वास्थ्य, खानेपानी, स्वरोजगार लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताउनुभयो । ‘नगरको विकास र नागरिकको सेवामा प्रतिबद्ध भएर लाग्ने छौँ, विकास र राष्ट्रिय स्वाधीनता रक्षाको लागि नेकपा एमालेलाई तलदेखि माथिसम्म जिताउनुहोस्’, उहाँले भन्नुभयो ।

मन्थली नगरपालिका उपप्रमुखकी उम्मेदवार ईश्वरी बस्नेतले शिक्षा, स्वास्थ्य, विद्युत् लगायतको क्षेत्रमा अधुरा रहेको काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सिर्जनात्मक क्षमता विकास, प्रयोगात्मक सिकाइमा जोड दिएर शिक्षाको गुणस्तर सुधारको लागि काम गर्ने उहाँले बताउनुभयो ।

नेकपा एमाले वाग्मती प्रदेश सदस्य एवं वडा सदस्यका उम्मेदवार कृष्णहरि अधिकारीले नेकपा एमाले लामो राजनीतिक संघर्ष गरेर आएको पार्टी भएको बताउँदै जनताको लागि एमाले नेता कार्यकर्ता ज्यान दिन पनि तयार रहेका बताउनुभयो । उहाँले एमालेलाई नजिस्क्याउन पनि प्रतिपक्षी दललाई चेतावनी दिनुभयो ।

मन्थली–१२ का वडाध्यक्षका उम्मेदवार खुसहरि बुढाथोकीले एमालेलाई हिजो दिएको मतले पूर्वाधार बनेको बताउँदै अबको मत समृद्धि, रोजगार, उत्पादन र सुशासनको लागि हुने बताउनुभयो । उहाँले वडामा सडकको गुणस्तर सुधार, खानेपानी, स्वास्थ्यको गुणस्तर सुधार, प्राविधिक र गुणस्तरीय शिक्षा, सामुदायिक भवन निर्माण गुणस्तरीय विद्युत् सेवा र सञ्चार प्रविधिको विकासका लागि काम गर्ने बताउनुभयो । त्यस्तै कृषि क्षेत्र र घरेलु उद्योगका लागि विशेष कार्यक्रम, पशु र कृषि बिमा, स्थानीय कला संस्कार र संस्कृतिको संरक्षण, खेलकुद, आधुनिक ऊर्जा, भ्रष्टाचार नियन्त्रण लगायतको क्षेत्रमा आफूले काम गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले विकासको लागि एमाले अपरिहार्य रहेको बताउनुभयो ।

चुनावी सभामा नेकपा एमाले वाग्मती प्रदेश सदस्य ध्रुव कार्की, जिल्ला कमिटी उपसचिव प्रकाशकुमार कार्की, मन्थली नगर अध्यक्ष रामबाबु घिमिरे लगायतको सहभागिता रहेको थियो ।@sunrisekhabar

फेसबुकबाट तपाइको प्रतिक्रिया