काठमाडौँको एउटै वडामा १९ हजार मतदाता

काठमाडौँ, २१ वैशाख । काठमाडौँ महानगरपालिका देशमै सबैभन्दा धेरै मतदाता भएको स्थानीय तह हो । त्यस्तै काठमाडौँ महानगरपालिका-३२ वडामा सबै भन्दा धेरै मतदाता रहेका छन । काठमाडौँको कोटेश्वर क्षेत्र पर्ने यो वडामा १८ हजार ९१३ मतदाता छन् । ०७४ सालमा ११ हजार ५५९ मतदाता रहोकोमा यस वर्ष सात हजार ३५४ मतदाता थपिए ।

यो वडामा ९ वटा मतदान केन्द्र तोकिएको छ । सबैभन्दा धेरै सरस्वती मावि मतदान केन्द्रमा ४ हजार २५६ मतदाता छन् । यस्तै आवास क्षेत्रको खेल मैदानमा ३ हजार ४३१ जना, कोटदेवी इङलिस बोर्डिङ स्कुलमा २ हजार २६१ मतदाता छन् ।

यो वडामा वडाध्यक्षका ७ जना र वडा सदस्यमा समेत गरी २६ जना उम्मेदवार छन् । ०७४ को स्थानीय निर्वाचनमा यो वडाको अध्यक्षमा नेकपा एमालेका नवराज पराजुली निर्वाचित भएका थिए । उनले ५८७९ मत ल्याएका थिए । उनी यस पटक पनि उम्मेदवार छन् ।

नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार छैनन् । नेकपा माओवादी केन्द्रबाट राम भारती, नेकपा एकीकृत समाजवादीकी सीतादेवी कँडेल पराजुली, राप्रपाबाट विष्णुप्रसाद गजुरेल, जसपाबाट नमिता देव, विवेकशील साझा पार्टीबाट रवि रिमाल र स्वतन्त्रबाट ठगमाया कटवाल वडाध्यक्ष पदका उम्मेदवार रहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया