पछिल्ला बर्षहरुमा आमा औसी अर्थात मातातिर्थ औँसीले सामाजिक सञ्जाल सिंगारिन थालेका छन् । मातृत्वको भावले गाउँ बस्ती सहर पनि भरिन थालेका छन् । सन्तान हुनेहरुका लागि त यो उल्लेखनीय खुसीको पर्व बन्ने नै भयो । सामाजिक सञ्जाल र अनलाईन डिजिटल मिडियामा लेखहरु लेखेर आमाको फोटोहरु राखेर आकर्षक र भावनात्मक अभिव्यक्ति पनि आउँछन् । यी अभिव्यक्तिले सन्तान नहुनेका लागि कस्तो महशुस गराउला ? सायद थोरैले पनि यस्ता कुरामा ध्यान दिएको पाईँदैन ।
तर यो रङ्गिन भीडमा यसबर्षको मातातिर्थ औंसीमा दोलखाको सुनखानीमा जन्मेका एक युवाको मनले सन्तान नभएको समानुभूति गरे । गाउँभरीका सन्तानविहीन आमाबुबालाई शिवाकोटी वंशका कुलदेवता अर्थात सुनखानीस्थित कालिनागलाई साक्षी राखेर सन्तानको दायित्व पूरा गरे । कालिनाग मन्दिर अगाडि सन्तानविहीन नागरिकलाई भेला गराएर खुसीयाली साटे ।
दोलखा सुनखानीका रामकृष्ण शिवाकोटी सन्तान नहुनेका लागि मनकारी छोरा बन्न सफल भएका छन् । काालिञ्चोक गाउँपालिका वडा नं ८ भट्टेली निवासी समाजसेवी, सफल व्यावसायी रामकृष्ण शिवाकोटीले निःसन्तान आमाबुबालाई सन्तानको दायित्व कस्तो हुन्छ भन्ने महशुस गराउने प्रयत्न गरे । शिवाकोटीले सन्तानस्नेह जागृत गराउँदै औसीँको दिन वडा नं ८ का सन्तानविहीन १५ जना नागरिकलाई सामुहिक सम्मान कार्यक्रम गरे । सबैलाई समान लत्ताकपडासहित खाना खुवाएर सम्मान गरे । सन्तानविहीन नागरिकले सन्तानको स्नेह महशुस गरे ।
सन्तान नहुने अभिभावकले औसीमा निराश हुनु नपरोस भन्ने उद्देश्यले सम्मान कार्यक्रमको आयोजना गरेको शिवाकोटीले बताए । आमाहरुका लागि धोती,चोलो,स्वीटर,धागो,टिका,चुरा र रामनामी साथै बुबाहरुका लागि दौरा,सुरुवाल,स्टकोट रामनामीले सम्मान गरेको शिवकोटीको भनाइ छ ।
शिवाकोटीले यस अगाडि पनि विभिन्न समस्यामा परेका नागरिकलाई सेवा गर्दै आएका छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया