काठमाडौं । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका लागि एक लाख ५० हजार ४७९ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगक अनुसार स्थानीय तह चुनावका लागि देशभरबाट महानगर, उपमहानगर र नगरपालिका प्रमुखका लागि ३४ सय बढीले उम्मेदवारी दर्ता गराएका हुन् ।
देशभर ३४ सय ६६ जनाले प्रमुख (मेयर) पदका लागि उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । त्यसैगरी, उपप्रमुख पदमा २१ सय ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिका अध्यक्षका लागि ३३ सय ७८ जनाले मनोनयन दर्ता गरे भने उपाध्यक्ष पदमा २३ सय ९२ जनाले मनोनयन दर्ता गराएका छन् ।
आयोगले तथ्यांक अनुसार वडाध्यक्षका लागि ३४ हजार ९४२ जनाले मनोनयन दर्ता गरेका छन् । महिला सदस्यका लागि २६ हजार ६१, दलित महिला सदस्यका लागि २३ हजार ४५६ र खुला सदस्यका लागि ५४ हजार ६४० जनाले उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन समय दिएको थियो।
त्यस्तैगरि, स्थानीय चुनावका लागि उम्मेदवार बनेकाहरुको विरोधमा परेका उजुरीमाथि आजदेखि जाँच सुरु हुने भएको छ । आज र भोलि जाँचबुझ गरिने र पर्सि १६ गते उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया