
मन्थली । रामेछाप जिल्ला फुटबल लिग २०७८’को उपाधि न्यू स्टार युवा क्लब मन्थली ६ भलुवाजोर (कुनौरी) ले हात पारेको छ । फाइनलमा न्यू स्टार युवा क्लबले मन्थली सांस्कृतिक समाजलाई हराउँदै उपाधि जितेको हो ।
रामेछाप जिल्ला फुटबल संघले आयोजना गरेको लिगको फाइनल खेलमा न्यू स्टार युवा क्लबले मन्थली सांस्कृतिक समाजलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । खेलको १४औँ मिनेटमा चन्द्र बहादुर माझीले गोल गर्दै न्यू स्टारलाई अग्रता दिलाएका थिए । त्यसपछि मन्थली सांस्कृतिक समाजले खेलमा फर्किने प्रयास गरेपनि गोल गर्न सकेन । जसका कारण १४औँ मिनेटको अग्रता अन्तिमसम्म नै कायम राख्दै न्यू स्टार युवा क्लब कुनौरी विजयी भयो ।
लिग जितेको न्यू स्टार युवा क्लबले नगद १ लाख १११ रुपैयाँसहित सिल्ड पाएको छ । अब न्यू स्टारले प्रदेश लिग च्याम्पियन खेल्न पाउने भएको छ ।
दोस्रो भएको मन्थली सांस्कृतिक समाजले ७५ हजार १११ रुपैयाँ, तेस्रो भएको दिपशिखा ब्वाइज युनाइटेड क्लबले ५० हजार १११ रुपैयाँ र सान्त्वना भएको शान्तिदीप युवा क्लब मन्थलीले २० हजार १११ रुपैयाँ नगद हात पारेका छन् ।
लिग मंसिर २३ गतेदेखि २५ गतेसम्म मन्थलीको हाटेचौर र भलुवाजोरको कुनौरी खेल मैदानमा भएको थियो । लिगमा जिल्लाका १२ वटा क्लव तथा समूहरुले भाग लिएका थिए ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया