मन्थली १२ गेलूका वडाध्यक्ष उमेद्धार बुढाथोकीको यस्तो छ विकासका १३ बुँदे प्रतिवद्धता

आदरणीय बुबा मुमा दाजु भाई/दिदि बहिनीहरु !
सर्वप्रथम नवबर्ष २०७९ को पावन अवसरमा सुस्वास्थ्य एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
तपाईहरु समक्ष जनसेवा एवम् समाजसेवाको नेतृत्व गर्ने अवसरको लागि आफ्नो प्रतिवद्धता, मुख्य योजना सहित हार्दिक अपिलको साथ मन्थली नपा १२ को वडाअध्यक्षको लागि (नेकपा एमाले पार्टिको तर्फबाट सुर्य चिन्ह लिएर) चुनावी उम्मेदवार दिन गईरहेको हुनाले सवै वडाबासीमा सर्वसम्मत र सौहार्दपुर्ण रुपमा विजय गराउनुहुन विनम्रतापुर्वक अपिल गर्दछु !
१२ नं. वडाको समृद्धिको सवै सरोकारवाला सँग छलफल गरि विकास योजना निर्माण तथा कार्यान्वयन गर्ने नै छु तथापी ठुला योजनाहरुमा खिम्ति अम्वास जोड्ने पुलको निर्माण, खानेपानी तथा सिचांई लिफ्ट परियोजना कार्यान्वयन, मुख्य सडक पिच एवम् सावाडाडा घुर्पागं अर्चले बतासे हुदै भोर्ले, अम्वास खिम्तिको पुल बाट गेलु बुगंदल हुदै सबै वडाबासीको संभव भएसम्म घरघरमा बाटो पुर्याउने, वडा बाहिर विभिन्न पेशामा रहेका र वडामा नै रहेका व्यक्तिहरुको संयूक्त लगानी मार्फत कम्तिमा ३ ठुला व्यवसाय एबम् उधोग र अन्य साना व्यवसाय संचालन गरि स्थानीय रोजगार सुनिश्चित गर्नेछु ।
संघीय शासन प्रणाली अन्तगर्तको स्थानीय तह सार्वजनिक सेवा प्रवाहको मेरूदण्ड र विकासको मुख्य आधार हो भन्ने मनन गरेको छु । सामाजिक आर्थीक, सांस्कृतिक विकासको लागि जनताको तहमा, जनसहभागितामुलक विकासलाई तिव्रता दिई सुशासन र समृद्दि हासिल गर्ने मुख्य आधारको रूपमा वडा कार्यलयहरु रहने कारण मन्थली १२ नं. वडाको काम कारवाही स्पष्ट भिजन सहित जनहितकारी, पारदर्शी, उदेश्यमुलक तथा प्रभावकारी बनाई समृद्ध वडा नं. १२ बनाउन तपशिल बमोजिमका मुख्य मुख्य समृद्धिको आगामी कार्ययोजना तय गरेको छु ।
तपशिल

१. सर्वप्रथम वडाको सवै किसिमको तथ्यांक अद्यावधिक गर्ने । वडाको विकास कार्ययोजना बनाउदा वा कार्यन्वयन गर्दा वा महत्वपूर्ण निर्णयहरु गर्दा वडाका सवै राजनैतिक दलहरुको नेतृत्व वा प्रतिनिधीहरु, बौद्धिक व्यक्तित्वहरू, सामाजिक संघ संस्था, शिक्षक, समाजसेवीहरु सँगको निरन्तर छलफल र वहस संचालन गरि विकासमा सहभागितामुलक निर्णय गर्ने तथा विकास कार्यलाई सहकार्यात्मक बनाउने छु ।

२. समाजमा रहेका सवै विचार र सोचहरुलाई समेटि, एकजुट बनाई सामजिक एकता निर्माण गरि समाजमा शान्ति एबम् सुव्यवस्था कायम गर्दै वडाको समृद्धि हासिल गर्न जनस्तर, पालिकास्तर, प्रदेशस्तर एबम् राष्टिय स्तरमा आवस्यकता अनुसार पहलकदमी र समन्वय गर्नेछु ।

३. जनस्तरबाट चुनियर बनेको वडा अध्यक्षको पदको गरिमा रहने गरि निश्वार्थ, निश्कलंक भएर वडास्तरबाट संचालन हुने सवै कार्यहरुलाई दक्षतापूर्वक, ईमान्दारिताका साथ सुशासन कायम गर्दै सम्पन्न गर्न जिम्मेवारिपूर्ण नेतृत्व गर्नेछु ।

४.सबै गाउ, टोल तथा घरमा जान सकिने सम्भब भएसम्म पिच सडक वा ग्राविल बाटो बनाउन पहल तथा समन्वय गर्नेछु, रुटको गाडिलाई संभव भएसम्म सवै गाँउ हुदै गुडाउन पहलकदमी गर्नेछु । आवस्यकता अनुसार सडक फराकिलो बनाउने, मर्मत गर्ने कार्यलाई यथासमयमा नै गर्नेछु ।

५. खानेपानी व्यवस्थापनको लागि पानीको स्रोत अर्थात मूलको संरक्षण गर्नेे र तामाकोशि बाट लिफ्टको माध्यामबाट सवै गाऊबासीलाई स्वच्छ खानेपानि उपलब्ध गर्ने । सरसफाई र शौचालय प्रयोगको जनचेतना बृद्धि गर्नेछु । गाउटोल र बस्ती अनि खाली जग्गामा हरियाली बाताबरण अनुसारको बृक्षारोपन गर्नेछु । सबै किसानको खेतबारिमा सिँचाईको ब्यबस्थापन, सामुदायिक बन पोखरी खोला मुहान संरक्षण ब्यबस्थापन गर्नेछु ।

६.शिक्षालाई उत्पादन सँग जोड्न, अनुशासित र रचनात्मक सकारात्मक नागरिक बनाउन विशेष भूमिका खेल्ने । वडाको शैक्षिक गुणस्तर बृद्धि गर्न वडा अन्तर्गत रहेका सवै विद्यालयहरुलाई स्रोतसाधन सम्पन्न गरि प्रभावकारी रुपमा संचालन गर्नेछु । अनौपचारिक शिक्षा कार्यक्रम तथा प्रारम्भिक बाल विकास केन्द्र संचालन तथा व्यवस्थापन गर्ने, पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्र, बाल क्लब तथा बाल सञ्जालको संचालन तथा व्यवस्थापन गर्नेछु । सबै बालबालिकालाइ गुणस्तरिय शिक्षाको पहुचकालागी बस्ती र जनघनत्वको आधारमा ब्यबस्थित सामुदायिक बिध्यालयहरु, प्रौढहरुको लागी प्रभावकारी शाक्षरता कक्षा सन्चालन गर्ने, बिध्यालय बिचैमा छाडेका बालबालिकालाई पुन बिध्यालय भर्ना गराउने उत्प्रेरित कार्यक्रमहरु संचालन गर्नेछु ।

७. आधुनिक खेतिबाली लगाउन तालिम अनि बीउ बिजन र कृषि उपकरणहरुमा सहुलियतपूर्ण सहयोग, सबैको घरमा मौसम अनुसारको तरकारी खेती, सबैको घरमा कम्तिमा ५, ५ बोट मौसम अनुसारको फलफुल लगाउन प्रेरित र सहयोग गर्ने, पशुपालन गर्ने घरमा सुधारिएको गोठ निर्माण, पशुपालन कुखुरापालनको लागि उन्नत तालिम ज्ञानशिप प्रदान गर्ने, सबै बस्ती बस्तिमा फलफुल तरकारी दूध मासु माछा सङ्कलन बितरन केन्द्रको प्रबर्धन स्थापना गर्ने, कृषि मल बीउ सहजिकरण गर्ने, कृषि तथा फलपूmल नर्सरीको स्थापना तथा समन्वय र प्रवद्र्धन गर्ने, वडास्तरीय अगुवा कृषक तालिम अभिमुखीकरण गर्ने, कृषि मलको माग संकलन गर्ने, कृषिमा लाग्ने रोगहरुको विवरण तयार गरी गाउँपालिका र नगरपालिकामा प्रस्तुत गर्ने । पशुपंछी विकास तथा व्यवस्थापनको लाािग वडाभित्रको चरन क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने ।

८. सवै गाँउ बस्तीमा फ्री वाइफाईको व्यवस्थापन गर्ने, स्थानिय कला संस्कृती परम्परालाई समयसापेक्ष सुधार संरक्षण एबम पहिचान बनाउने, टोल टोलमा टोल सुधार सामुदायिक संस्थाको बिकास अनि उनिहरुको कृयाशीलता बृद्धि गर्ने, घरघर र समाजमा पुरुष र महिलाबिचको कार्य बिभाजनमा उदाहर्णियता बनाउने । बस्ती बस्ती र ब्यक्ती ब्यक्ती बिच आपसी सहयोग अनि भाइचाराको व्यवहार बिकास गराउने । सक्षम ले कमजोर अवस्थाको लाई सहयोग गर्ने भावना बृद्धी गर्ने । वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने, अन्तर विद्यालय तथा बाल क्लबहरु मार्फत खेलकुद कार्यक्रम संचालन गर्ने गराउने ।

९.स्वास्थ्य सेवामा सबैको पहँुच बृद्धि गर्न गाँउबस्तीमा घुम्ती स्वास्थ्य सेवा संचालन गर्ने । वडा तहको स्वास्थ्य उपकेन्द्रको व्यवस्थापन गर्ने, बालबालिकाहरुलाई आवस्यक खोप र पोषण कार्यक्रम संचालन गर्ने, वडा तहमा स्वास्थ्य जनचेतना विकास, स्वास्थ्य सूचना कार्यक्रम संचालन गर्ने, शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिक संचालन गर्ने गराउने ।

१०. स्थानिय श्रोत अनुसारको साना तथा घरेलु उद्योगको स्थापना र त्यसलाइ प्रबर्धन गर्न सहयोग गर्ने, स्थानियबासिको शिपबिकासको लागि तालिम तथा अबलोकन भ्रमणबाट प्रेरित गर्ने । सामाजिक परिचालक र उद्यम विकास सहजकर्ताको व्यवस्था गर्ने, उद्यम विकासका लागि उत्प्रेरणात्मक अभिमुखीकरण गर्ने, आर्थिक सचेतना केन्द्रको स्थापना र सञ्चालन गर्ने, उद्यमशीलता विकास तालिम प्रदान गर्ने, व्यवसाय योजनाका आधारमा उद्यमीलाई कर्जा तथा प्राविधिक सहयोग उपलब्ध गराउने ।

११. वडा कार्यालयबाट प्रदान गरिने सेवा सर्वसुलब र शहज तवरले प्रदान र पार्दर्शिता अपनाउने, समय समयमा सबै टोल वडा बासी बिचमा अन्तरकृया सम्बाद हुने प्रचलनको स्थापना गरायर आपसी आदरभाबको सृजना गराउने । टोल विकास संस्थाको गठन र परिचालन गर्ने । वडाभित्र संचालन हुने योजनाहरुका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने । वडाभित्रका आयोजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने ।

१२. वडालाई बालमैत्री बनाउने, वडाभित्र आर्थिक तथा सामाजिक रुपमा पछि परेका समुदायको अभिलेख राखी सामाजिक तथा आर्थिक उत्थान सम्बन्धी काम गर्ने, विभिन्न समुदायका बीचमा सामाजिक सदभाव र सौहार्दता कायम गर्ने, बालविवाह, महिला विरुद्धको हिंसा, छुवाछुत, दाइजो, बालश्रम, मानव बेचविखन, निरक्षरता आदि जस्ता सामाजिक कुरिती र अन्धविश्वासको अन्त्य गर्ने गराउने । वडाभित्रका असक्त बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पाताल वा स्वास्थ्य केन्दमा पुर्याइ औषधोपचार गराउने ।
१३. बेरोजगार एबम् अर्धरोजगारीमा रहेका व्यक्तिहरुलाई व्यवसायिक कृषि खेति, पशुपालन, माछा पालन लगायतको लघु उद्यमको विकास र प्रबर्धन गर्न विशेष सहजिकरण गर्ने । बस्तुको बजारीकरण तथा व्यवसायिकरणमा भूमिका खेल्ने, हाट बजारको व्यवस्थापन गर्ने गराउने, स्थानीयस्तरमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, खोज तथा उद्धार टोलीहरुको निर्माण गर्ने ।

अन्तमा, यी लगायत विविध जनसेवा र समृद्ध समाज निर्माणका अन्य कार्ययोजनाहरु समानुकुल निर्माण गरि कार्यान्वयन गर्ने नै छु । नयाँ जोस र उमगंका साथ सवै युवा, बृद्धा, महिला, किसान, सवै सोच विचार भएका, सवै सवैको हित बृद्धिमा उत्तम भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पुर्ण वडावासी एकजुट र एकध्वनीका साथ मेरो उम्मेदवारीको समर्थन, संचार, प्रचार प्रसार गरिदिनुभई विजय मात्र होईन, सर्वसम्मत वडाअध्यक्ष चयनको वातावरण निर्माण गरिदिनुहुन हार्दिक अपिल गर्दछु ।

खुशहरी बुढाथोकी
वडाअध्यक्षको उम्मेदवार
वडा नं. १२ , मन्थली नगरपालीका

फेसबुकबाट तपाइको प्रतिक्रिया