पाकिस्तानको २३ औं प्रधानमन्त्रीमा शेहबाज सरिफ निर्वाचित

काठमाडौँ । पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ निर्वाचित भएका छन्  । संसद्मा बहुमत सांसदको समर्थन पाएपछि पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष सरिफ पाकिस्तानको २३ औं प्रधानमन्त्री बनेका हुन् । सरिफले इमरान खानलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षी गठबन्धनको नेतृत्व गरेका थिए ।

गठबन्धनले आफूविरुद्ध संसद्मा पेस गरेको अविश्वास प्रस्तावमाथि शनिबार भएको मतदानमा पराजित भएपछि खान पदमुक्त भएका थिए । शहबाज तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका नवाज सरिफका भाइ हुन् । इमरानको पार्टी पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) ले संसद्मा प्रधानमन्त्री छान्न तोकिएको चुनाव बहिष्कार गरेपछि बहुमत सांसदको समर्थनका आधारमा सरिफ प्रधानमन्त्री निर्वाचित भएका हुन्  । संसद्मा कायम ३४२ सदस्यमध्ये उनलाई १७४ जनाले समर्थन गरेका जनाइएको छ । सरिफ सन् २०२३ को अगस्टसम्म प्रधानमन्त्री हुनेछन्  ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि सरिफले खान नेतृत्वको सरकारले देशको अर्थतन्त्र बिगारेको आरोप लगाउँदै त्यसलाई सही दिशा दिनु आफ्नो प्राथमिकता भएको बताएका छन् । खानका समर्थकले भने षड्यन्त्रपूर्वक सत्ता परिवर्तन गरिएको भन्दै देशका मुख्य सहरहरूमा विरोध प्रदर्शन गरेका छन् ।
आफ्नो सरकारको विदेश नीतिका कारण सत्ताबाट हटाउन अमेरिकाले नेतृत्वदायी भूमिका खेलेको खानको दाबी छ । तर उनले यसबारे कुनै प्रमाण भने दिन सकेका छैनन् । अमेरिकाले पनि उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया