पिप्लेका खरदार बाको चौरासी

उद्धव लुइटेल /टोकियो,जापान

मैले बाल्यकालमा हिमालय स्कुल जान थालेदेखि नै देखेको हो खरदार बालाई । छरछिमेकी, गाउँले सबैसँग विनम्र भएर बोल्ने खरदार बा बिहान बेलुका डोको, चित्रा, नाम्लो आदि चोयाका घरेलु सामग्रीहरू बुन्थे । दिउँसो अक्सर गरेर खेतबारी वा पाखातिर बनाएका धरानमा काठ काट्ने ( चलनचल्तीको भाषामा आरा लगाउने ) गर्दथे ।

गहुँगोरो वर्ण, होचो शरीर, चौडा अनुहार, ठूलो टाउको, कसिलो शारीरिक बनौट खरदार बाको विशेषता हो । पूर्व फर्किएको घरको आँगनमा अक्सर गरेर बाले डोको बुनिरहेको भेट्थें । म सिंहबाहिनी माविमा पढेर फर्किँदा खरदार बा र आमालाई टुँडिखेलको शुक्रबारे बजारतिर गइरहेको भेट्थें । उनीहरू तेह्रथुमको टुँडिखेलमा लाग्ने शुक्रबारे बजारमा सानो पसल राख्थे । त्यहीं लाइनमा शिव निरौला, हुत्तराज निरौला, घारीघर हजुरआमाका पनि उस्तै पसल हुन्थे । सलाई, चुरोट, बिस्कुट, सुन्तले चकलेट आदि हुन्थे पसलमा । खरदार आमाको दिवंगत भइसक्यो । सायद बीस वर्ष नागिसक्यो होला । त्यसपछि खरदार बाको जीवन रथको एक्लो चक्काजस्तो भयो र सन्तानको सहारामा उनले दिनचर्या बिताइरहेका छन ।

खरदार बाको चौरासी औं जन्मदिनको खबर फेसबुकबाट थाहा पाएँ । उनकै कान्छा छोरा ताराबीर श्रेष्ठले चैत १९ गते शनिबार फेसबुकको वालमा पोस्ट गरेपछि मलाई धेरै दिनदेखि उति धेरै सम्झनामा नआएका खरदार बाको गाढा याद आयो । अतीतका अनगिन्ती यादहरू स्मृतिमा झल्झली आए । पिप्ले र त्यहाँका बाल्यकालीन घटनाहरू असरल्ल भएर आए र दिमाख हल्लाए । मनमा फरक किसिमको कम्पन पैदा भयो ।

खरदार बाले मेरो चित्त दुखाए भन्ने मानिस मेरो स्मृतिमा कोही पनि छैन । निकै बल गरेर सम्झिएँ तर पनि भेटिएनन् । यो उनको शक्ति हो । मानवीय गुण हो । अझ भनौं दैवी वरदान हो । उनको ढाडको डल्लोका बारेमा यदाकदा कटु टिप्पणी गर्नेहरू सम्म थिए । त्यसमा खरदार बाको के दोष । दोष त उनको शारीरिक आकृतिलाई नकारात्मक रूपमा हेर्नेहरूको हो । दोष त ईश्वरको हो । प्रकृतिको हो । शरीर सबै थोक पनि त होइन नि । मानिस त आनीबानीले र बोलीचालीले अरूको मनमा बस्छ । शरीर त परिवर्तनशील छ । कहिले दुब्लाउँछ, कहिले मोटाउँछ । कहिले शरीरमा गाँठागुँठी पलाउँछ । कहिले के हुन्छ, कहिले के । शरीरको रूपरेखा बदलिनुमा मानिस स्वयंको के दोष ? शारीरिक दुर्बलताले मानिस कहाँ कमजोर हुन्छ र ? झमक घिमिरेको सिर्जना हाम्रै अगाडि छैन र ?

हिउँदतिर खरदार बा कहिले सेतिखन्नाको भीरतिर त कहिले गैरी खेतमा बस्तुबाख्रा चराउँन लान्थे । उनी कहिले भोगटिनीको थ्याप्चे ढुंगामा बसेर फोक्टी खेततिर फर्किएर बाख्रालाई बोलाइरहेका हुन्थे । ससाना पाठाहरू उनको आवाज सुनेर सल्लेरी वन र तिनतले भीरतिर फर्किएर उसरी नै कराइदिन्थे । बा बेलुका घर फर्किंदा कहिले घाँसको भारी त कहिले सोतरको भारी बोकेर फर्किन्थे । सानडाँडामा टुसुक्क बसेर तल डाँडेखेत, खोक, जामुने खेत, कमलखन्नोतिर हेरिरहने खरदार बाको उतिबेलाको दिनचर्या मेरा स्मृतिमा ताजै छन ।

हामी नव युवकहरू स्याम्दल लिम्बूको गैरीखेतको खलेगरोमा हाइजम्प खेल्थ्यौं । दुईवटै हातमा ढुंगा बोकेर परबाट तीव्रगतिमा दौडिएर अगाडि हुत्तिएपछि निकै दुरी पार गरिन्थ्यो । सम्झना छ खरदार बा खलेगरोको आलीमा टुसुक्क बस्थे र हाम्रो तन्नेरीपनको जोसिलो हाउभाउ चाख मानेर हेर्थे । पैरेको भीरमा उनले बाख्रा चराएको र गैरीखेतका लामा खेतका गरा जोतेको अहिलेजस्तो लाग्छ ।

हिमालय स्कुल पढ्दा खरदार बाको दोकानमा सुन्तले चकलेट खुब किनेर खाइन्थ्यो । मिल्की बाइट पनि खाइन्थ्यो खुब मजाले । उतिबेला आठाना वा एक रुपैया बोकेर गए दिनभरि राजा भइन्थ्यो । बारी बगैचामा जे पाकेका छन त्यो हाम्रो उतिबेलाको खाजा हुन्थ्यो । दोकानमा केही किनेर खान पाएँपछि ठूलो नहुने कुरै थिएन ।आज कसले कति पैसा ल्यायो । त्यो जिज्ञासा सबैमा हुन्थ्यो नै । जसले जति ल्याए पनि थन्क्याउने ठाऊँ भने उही थियो खरदार बाको दराजे दोकान । सानो झ्यालबाट मुन्टो छिराएर चकलेट किन्थ्यौं र भीष्म सार्कीको धारासम्म पुग्दा चपाएर निलिसक्थ्यौं । स्कुल पुग्दा मुखमा गुलियो चकलेटको धङ्धङी मात्रै बाँकी रहन्थ्यो ।

खरदार बा जस्ता अरू बाहरू पनि थिए गाउँघरमा । बाटाघरे बा, डाँडापारी बा, जन्तरे बा, कान्छा बा, अन्तरे बा, डाँडाघरे बा, शेरबहादुर बा, ठूलार बा, रामदास बा, माधव बा, प्रधान बा, एमबी बा, बिजुले बा, अग्निप्रसाद बा, घारीघर बा आदि इत्यादि । अधिकांशले स्वर्गको बाटो तताए । जन्तरे बा र खरदार बा अझै दरै छन भनेको सुन्छु । जन्तरे बाभन्दा खरदार बा उमेरले जेठा हुन । यति धेरै बाहरूमध्ये खरदार बाले यसपटक चौरासीऔं जन्मदिन मनाए भन्ने खबरले हर्षको सीमा रहेन । मेरा गाउँले छिमेकीहरूमध्ये उनी भाग्यमानी बा रहेछन । उनलाई मेरो गाउँका जिउँदो इतिहास मान्ने कुरामा मलाई रत्तिभर संकोच छैन ।

म हिजोआज पनि झल्झली सम्झन्छु, खरदार बा र आमा अम्फूवातिर आफन्त भेटेर मेरै घरमुनिको बाटो फर्किन्थे । म उमेरले नाती समानको मान्छे । उनी संवोधन गर्दै भन्थे – कान्छा नानी के गर्दै हुनुहुन्छ ? मेरो घरमुनिको तेस्रो बाटामा सातवटा नास्पातीका रूखहरू थिए । तीमध्ये डाँडाको बोट र पर्खालको बोटका नास्पाती असाध्यै मिठा । साउन अन्तिम वा भदौ महिनातिर खरदार बा र आमा अम्फूवाबाट फर्किदा नास्पाती मागेर खान्थे र केही दाना माइला छोराका नाती नातिनालाई लगिदिन्थे । खरदार आमाको अल्पायूमा निधन हुँदा गाउँ शोकाकुल बनेको र बाको परिवारमा गहिरो चोट परेको खबर मैले निकै समयपछि थाहा पाएँ । उतिबेला अहिलेजस्तो फोन सुविधा थिएन । सशस्त्र युद्धले देश आक्रान्त थियो । म त्यतिबेला विराटचोकमा स्नातक तहमा अध्ययन गर्दै थिएँ ।

खरदार बाको जन्मदिनको साँझ उनकै कान्छा छोरा तारावीरले फेसबुकमा दुईवटा भिडियो अपलोड गरे । भिडियो मधुरो थियो । तैपनि पटकपटक हेरें । जन्तरे बा सेतो सर्ट, कालो पाइन्ट र ढाका टोपी लगाएर अल्लारे पारामा नाचिरहेका थिए । सहोदर दाजुको चौरासीमा उनलाई जोस आउनु स्वभाविक थियो । जन्तर्नी आमा पनि स्वतस्फुर्त रूपमा नाचिरहेकी थिइन । घरको पेटीमा बसिरहेकी डेडराज दाइकी आमासँग गाला जुदाइन जन्तर्नी आमाले । खरदार बाका माइला छोरा चेक सर्ट र ढाका टोपीमा सजिएर आफ्नै बाको जन्मोत्सवमा नाचिरहेका देखिए छमछमी ।

वारी तुँवालो वरै पारी तुँवालो गीतको भाकासँगै रमाइरहेका मेरा पुराना गाउँले र छरछिमेकीहरू देखेर हर्षका आँसु झरे । कहाँ गयौ जुरेली किन गीत गाउँदैनौ – पृष्ठभूमिमा घन्किरहेको थियो अर्को गीत । त्यो गीतमा रमाइरहेका थिए शंकर दाइ,डेडराज दाइ , सम्फरजुङे भेना र अरू थुप्रै चिरपरिचितहरू । खरदार बाको जन्मदिनले भित्र्याएको थियो अपार आनन्द र खुसी त्यो घरको आँगनमा । खरदार बाका कान्छा छोरा तारावीर र मेरो सहोदर दाजु अर्जुन क्लास मेट हुन हिमालय स्कुल पढ्दा ।

मलाई लाग्छ हिजोआजको अस्वस्थ खानेकुरा र मानिसहरूको यान्त्रिक जीवनका कारण अबका दिनमा थोरै मानिसहरूले मात्र आफ्नो चौरासी औं जन्नदिन मनाउन पाउँछन । ती थोरै भाग्यमानी मध्ये खरदार बा एक हुन । त्यसको भोलिपल्ट बिहानै पिप्लेमा रमेश लुइटेलका घरमा फोन लगाएँ । खरदार बा अझै बाख्रा चराउँछन, चोयाका सामग्रीहरू बुन्छन भनेको सुन्दा अचम्म र आनन्द लाग्यो । घर छेऊको चोयाबाँसले खरदार बालाई अझै छुटकरा दिएको रहेन छ । घरमुनिका बारीका सुर्काहरूले बाका चरणको स्पर्श अझै पाइरहेका रहेछन ।

खरदार बाको मातृसेवा म अझै पनि सम्झिन्छु । उनकी आमा असाध्यै तगडा थिइन । कुन्नि के रोगले च्यापेर हो अचानक लामो समय ओच्छ्यान परिन् । उनी ओच्छ्यान मात्र परिनन् दिसा पिसाब सबै खरदार बाले नै सोहोरे । घरी बिहान सबेरै, घरी मध्य दिउँसो, घरी साँझको बेला ओच्छ्यानबाटै जोडजोडले कराउँथिन उनी । पर हामी घरबाटै सुन्थ्यौं त्यो आवाज । आवाजमा प्रष्टता थिएन । अर्थात् अर्थ बुझिंदैन थियो । अरू छोराहरूले बेलाबेला आएर हेर्थे तर खरदार बाले एकैछिन छोडेनन् । आमाको पीडालाई आफ्नै पीडा ठानें । बैतर्नी गरे, भगवद् गीताका पवित्र श्लोकहरू सुनाए, सिरानेमा हरदम भागवत् महापुराणको पुस्तक राखिदिए, तुलसीको पानी हरदम खुवाए । आफ्ना सारा काम थाती राखेर उनले आमाको कठोर सेवा गरेर मातृऋणको अंश केही भए पनि घटाए । हुनसक्छ तिनै दिवंगत आमाको अचुक आशीर्वादले खरदार बा अझै पनि तन्दुरुस्तै छन । पितृको आशीर्वाद सन्तानलाई लाग्छ भन्ने हाम्रो सामाजिक मान्यता पनि छ ।

मैले जन्मथलो तेह्रथुम पिप्ले छोडेको दुई दशक पार भइसक्यो । खरदार बाले जुन मूलको पानी पिए म पनि त्यहीं पानी पिएर हुर्किएँ । जुन धर्तिमा उनी जन्मे हुर्के र आफ्नो जीवनको अधिकांश समय बिताए म पनि त्यहीं जन्मे हुर्किएँ । खरदार बाको समय र मेरो पालाको समयमा ठूलै परिवर्तन आइसकेको थियो । त्यसैले म परदेशी भएँ बा घरदेशी । भौतिक रूपमा जो जहाँ भए पनि खरदार बाप्रतिको आदर र सम्मान मेरो हृदयबाट एक अंश पनि घटेको छैन । बरू पहिलाभन्दा झन् बढेको छ । म खरदार बाको सय वर्षभन्दा बढिको आयु होस् भन्ने कामना गर्दछु । खरदार बाका माध्यमबाट अरू थुप्रै बाहरू र आमाहरूको दीर्घ जीवनको कामना गर्दछु । खरदार बा तपाईको आशीर्वाद मेरा शीर माथि सधैं रहिरहोस् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया