काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा त्यसतर्फ जान लाग्नु भएको हो ।
भ्रमण कार्यक्रम अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो २ : ५० बजे प्रधानमन्त्री देउवा भारतको नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनु हुनेछ ।
शुक्रबार दिउँसो ४ :३० बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले होटल आइटीसीमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । शुक्रबारको कार्यक्रम यही अन्त हुनेछ ।
शनिबार स्थानीय समय अनुसार बिहान १० : ४० बजे प्रधानमन्त्री देउवा राजघाट जानु हुनेछ । त्यसपछि सोही दिन ११ ः १० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नु हुनेछ ।
मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२ : १५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयुक्त विज्ञप्ति जारी गरिनेछ ।
शनिबार नै दिउँसो ४ :३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नु हुनेछ ।
प्रधानमन्त्री देउवा आइतबार बिहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने कार्यक्रम रहेको छ । वाराणासीबाट पुन: नयाँ दिल्ली आई उहाँ त्यहाँबाट ४ :१५ बजे स्वदेश फर्किनु हुनेछ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया