
काठमाडौँ । चिनियाँ निर्माण कम्पनी सिएएमसीइले निर्माण गरिरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको छ । चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा राजधानी काठमाडौँ र निर्माणस्थल पोखरामा आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच विमानस्थल हस्तान्तरण गरिएको हो ।
काठमाडौँमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा चीनका परराष्ट्रमन्त्री यीले परराष्ट्रमन्त्री नारायण खड्कालाई विमानस्थलको चाबी हस्तान्तरण गरे । पोखरामा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानस्थल निर्माण सम्पन्न गरेकामा चिनियाँ कम्पनी सिएएमसीइका अध्यक्ष लु यानलाई कदरपत्रद्वारा सम्मान गरे ।
मन्त्री आलेले विमानस्थल छिट्टै सञ्चालनमा ल्याइने बताए । सरकारले आवश्यक तयारी पूरा गरेर आगामी ६ महिनाभित्रमा सञ्चालनमा ल्याउने उनले जानकारी दिए ।
विमानस्थलको काम सम्पन्न भएकाले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ, ¥याफटिङ, गल्फलगायत क्षेत्रमा लगानी र पूर्वाधार निर्माण गर्नुपर्नेमा मन्त्री आलेले जोड दिए । पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सरकारले कामअघि बढाएको उनले उल्लेख गरे ।
फेसबुकबाट तपाइको प्रतिक्रिया