
टोकियो: सन् १९०६ मा पहिलो अन्तरराष्ट्रिय महिला सम्मेलन भएको थियो,भने सन् १९०८ मा समान अधिकारको नारा लिएर आन्दोलनमा महिलाहरू उत्रेका थिए ।
सन् १९१० मा कोपन हेगनमा सम्पन्न भएको महिलाहरूको दोश्रो अन्तरराष्ट्रिय सम्मेलनबाट पारित गरेर मार्च ८ लाई अन्तराष्ट्रीय नारी दिवसको रूपमा मनाउँदै आएको छ । यो प्रस्ताव सचिव कलरा जोटिक्नले राखेका थिए ।
अहिलेसम्म आउँदा परिवर्तन नै नभएको त होइन तर पनि हाम्रो नेपाली समाजमा हामी महिला दिदी बहिनीहरूलाई दोश्रो दर्जामा राखेर हेर्ने नजर अझै पनि हटेको छैन । समाजमा विकास ,स्वच्छ, परिवर्तन गर्नका लागि पुरुष जतिकै महिलाहरूको पनि समान उपस्थिति एवं योगदान हुन जरुरी छ । हामी रहेको समाजलाई हेर्दै र भोक्दै आएको कुराहरूले पनि छर्लङ्ग छ कि हामीले अझै पनि नारी समान अधिकारका लागि सङ्घर्ष गरिरहनु परेको छ ।
साना साना नानीहरूदेखि हजुरआमा सम्म बलात्कृत हुन्छन् , दिदीबहिनीहरू खुलेर आफ्नो निर्णय गर्न सक्दैनन् घरको बुबा दाजुभाइको मुख ताक्नु पर्ने हुन्छ । बुबा आमाले छोरीलाई ब्याचलर, डिग्री नै पढाए पनि श्रीमानको घरमा गए पछि चुला चौकामा नै जीवन बित्छ । कानुन बन्छ कार्यान्वन हुन्न । यी यस्ता कुराहरू कति छन् कति ,यसको समाधानका लागि दिदी बहिनीहरू आफैँ जागरुक हुन जरुरी छ ।
हाम्रो बुबा आमाको दुई सन्तान मात्र छौँ म र मेरो बहिनी । अहिले बुबा आमा दुबै जना गुमाएका टुहुरो सन्तान हौँ। हामी सानो छँदा छोरो रहेनछ मरेपछि काजक्रिया कसले गर्छ भनेर बुबा आमालाई समाजका प्राय: व्यक्तिहरूले भन्ने गर्थे त्यो बेला बुबाआमाले मेरो टाउकोमा हात राख्नु हुन्थ्यो र भन्नु हुन्थ्यो जे भए पनि सन्तान बराबर । बुबा त धेरै अगाडि नै जानु भयाे । आमाले पनि सन् २०२० मा हामीलाई छोड्नु भयो, त्यो बेला हाम्रो धर्म संस्कृति अनुसार दाग बत्ती दिने, काजक्रिया गर्ने जिम्मा म र मेरो बहिनी आफैँले लियौँ र सम्पन्न गर्यौँ।मेरो मतलबरव समाजमा आई पर्ने हरेक कुरामा नारीको समान सहभागिता र अधिकार हुनुपर्छ र मात्र समाज सही स्थानमा आउनेछ।
अन्तमा “सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चिता”(Gender equality today for a sustainable tomorrow) नारा को साथ मनाई रहेको ११२औं अन्तरराष्ट्रिय नारी दिवसको सम्पूर्ण नारीहरूलाई उच्च सम्मान संगै नारी दिवसको शुभकामना ब्यक्त गर्दछु।
लेखक: अनिता गुरुङग एनआरएनए जापानकी बर्तमान अध्यक्ष हुनु हुन्छ।
फेसबुकबाट तपाइको प्रतिक्रिया