साफ यु–१९ महिला च्याम्पियनसीप खेल्न जाने २३ सदस्यीय नेपाली महिला टोलीलाई बिदाइ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार साफ यु–१९ महिला च्याम्पियनसीप खेल्न जाने २३ सदस्यीय नेपाली महिला टोलीलाई बिदाइ गरेको छ । बंगलादेशको ढाकामा शनिबारदेखि सुरु हुने प्रतियोगिताका लागि टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्दै छ ।

सिगल राउन्ड रोबिन पद्दतिमा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान, श्रीलंका र भारतको सहभागिता रहने छ । नेपालले प्रतियोगिताअन्तर्गत पहिलो खेलमा घरेलु टोली बंगलादेशको सामना गर्ने छ । प्रतियोगिताको दोस्रो खेलमा २९ गते श्रीलंका, पुस २ मा भुटान र चारमा भारतको सामना गर्ने छ ।

लिगका शीर्ष दुई टोली सात पुसमा उपाधिका लागि भिड्ने छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा आयोजित बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष वीरबहादुर खड्का, उपेन्द्रमान सिंह, पेमा लामा, हरि खड्कालगायतका उपस्थित थिए ।

एन्फाले पहिलो चरणमा बोलाएको ४० खेलाडीबाट प्रशिक्षक हरिओम श्रेष्ठको नेतृत्वमा गत शुक्रबार अन्तिम २३ सदस्यीय टोलीको घोषणा गरेका थिए । छनोट भएको टोलीमा राष्ट्रिय टोलीका गोलरक्षक अन्जना राना मगर, रक्षक विमला विक, सविता राना मगर, रश्मी कुमारी घिसिङ, प्रीति राई, रजनी थोकरसहित ६ खेलाडी समावेश छन् ।

यस्तै, रक्षक रोजिना श्रेष्ठ, सुस्मा तामाङ, सलोनी राना मगर, मेनुका आले मगर, सरस्वती हमाल, अमिशा कार्कीले यस अघिको यू–१८ साफ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

नेपाल साफको साविक उपबिजेता समेत हो । नेपालबाट निर्णायकको भूमिकाका लागि रेफ्रीद्वय अन्जना राई र बिना श्रेष्ठलाई समेत एन्फाले बिदाइ गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया