
उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलकी संस्थापक अध्यक्ष हुनुहुन्छ प्रा.डा. मधु दीक्षित देवकोटा । यस बाहेक उहाँले आफ्नो जीवनको ३४ वर्ष त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्जमा अध्यापनमा बिताउनुभयो । सन् १९८४ मा शिक्षण अस्पताल महाराजगञ्जमा मेडिकल अफिसरको रुपमा सेवामा प्रवेश गर्नुभएकी डा. मधु पछिल्लो समय सहायक डिनसम्म हुनुभयो । त्यतिखेर शैक्षिक र योजना गरी उहाँलाई दुई वटा पोर्टफोलियोको जिम्मा दिइएको थियो । श्रीमान, वरिष्ठ न्युरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटा बिरामी परेपछि उहाँलाई उपचारार्थ बेलायत लानुपर्यो र डा. मधुले सो कार्यलाई निरन्तरता दिन सक्नुभएन । कुर्सी खाली रहँदा व्यवस्थापनलाई गाह्रो होला भनेर उतैबाट राजिनामा पठाउनुभयो । डा. देवकोटाको अवसान उपरान्त उहाँ पूर्णकालीन रुपमा न्यूरो अस्पतालको व्यवस्थापनमा आवद्ध रहिरहनुभएको छ । अहिले प्रा.डा उपेन्द्र देवकोटा नभएको अवस्थामा प्रा.डा. मधुले अस्पताल कसरी सञ्चालन गरिरहनुभएको छ ? भन्ने जिज्ञासा उब्जिनु पनि स्वभाविक हो । जनस्वास्थ्य सरोकारका लागि पुरुषोत्तम घिमिरेले ‘कर्पोट हेल्थ’ शीर्षकमा प्रा.डा. मधुलाई प्रस्तुत गर्नुभएको छ, जानौं उहाँकै शव्दमा सफलताको राज ।
कर्मथलो
सन् १९८९ मा वेलायतबाट पिडियाट्रिक्स (वाल स्वास्थ्य) को उच्च अध्ययन सकेर फर्केपछि म पुनः चिकित्सा शास्त्र अध्ययन संस्थानमा काम गर्न थाले । पछि मैले जर्मनीको हाइडलवर्ग युनिभर्सिटीबाट एमएस्सी इन कम्युनिटी हेल्थ एण्ड हेल्थकेयर म्यानेज्मेन्ट अध्ययन गरेँ र फेरि त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानमा अध्यापनलाई निरन्तरता दिएँ । त्यसैलाई आफ्नो कर्मथलो बनाएँ ।
जीवनको सार्थकता
देशको जुनसुकै जिल्लामा गएपनि मैले पढाएका डाक्टर, पब्लिक हेल्थका विद्यार्थीहरु भेट्न पाउँछु । मेरा धेरै विद्यार्थीहरु स्वास्थ्यका अगुवा हुनुहुन्छ र देशभरका अस्पताल एवं पब्लिक हेल्थका कार्यक्रमहरुको कार्यान्वयनमा अग्रणी भुमिकामा हुनुहुन्छ । अध्ययन अध्यापन, अनुसन्धान एवं स्वास्थ्य मन्त्रालयका लागि नीति परामर्श सम्बन्धि कार्यको सिलसिलमा देशका धेरैजसो जिल्लामा पुग्ने अवसर पाएकोमा मलाई गर्वको अनुभूति हुन्छ ।
मैले नेपाल सरकारको मातृ तथा शिशु स्वास्थ्य, पोषण, स्वास्थ्य सेवामा पिछडिएका समुहको पहुँच, लैङ्गिक विभेद एवं महिला हिंसा लगायतका १० भन्दा वढि स्वास्थ्य नीति, योजना र रणनीति लेख्ने मौका पाएँ । नीतिगत तहको यस योगदानको फलस्वरुप मुलुकमा आमा र नवजात शिशुको मृत्यु संख्यामा ह्रास आयो, कुपोषणको स्थितिमा पनि सुधार आएको छ । यसले नेपाल संसारकै लागि मातृ मृत्युदर एवं वालवच्चामा कुपोषण घटाई उदाहरणीय बन्न पुग्यो विश्व समुदाय माझ । यसरी थोरै भएपनि मुलुकको नीतिगत तहमा योगदान गर्न पाएकोमा जीवनले सार्थकता पाएको महसुस गर्छु ।
विरासत धान्ने प्रण
प्रा.डा. देवकोटाकोे अनुपस्थितिमा अस्पताल सञ्चालन गर्न गाह्रो होला कि भन्ने मलाई ठूलो पिर लागेको थियो । त्यो बेलामा मैले उहाँलाई सोधेकी पनि थिएँ—उहाँले केहि सोचेर भन्नुभयो, ‘तिमी अस्पतालको निर्माणदेखि व्यवस्थापनसम्म सबैमा संलग्न भएकाले यो अस्पताल सञ्चालन गर्न सक्छौ । आफ्नो बच्चालाई झैँ स्याहार गरेर तिमीले यो हस्पिटल हुर्काउन सक्छौं ।’
अर्को महत्वपूर्ण कुरा उहाँले मलाई भन्नुभएको थियो—‘मैले यहाँ काम गर्ने राम्रो मान्छेहरु रोजेको छु । बिऊ गतिलो छ, तिमीले बिरुवालाई उकेरा मात्र लगाए पुग्छ । तसर्थ, प्रा.डा. उपेन्द्र देवकोटाको देहवसानपछि मैले उहाँको विरासत धान्ने प्रण गरेँ ।
सेवाको निरन्तरता
डा. देवकोटा नभएपछि यसले अस्पताल सञ्चालन गर्न सक्दिन कि भन्ने आँकलन पनि गरियो । तर उहाँको देहावसान भएको पनि आज साँढे ३ वर्ष भइसक्यो । हस्पिटलमा आउने बिरामीको चाप घटेको छैन । बिरामीहरुले विगतको जस्तै गुणस्तरीय सेवा र सुविधा प्राप्त गरिरहेका छन् । अस्पताल उहाँले बसालेकै प्रणालीमा चलेको छ । मेरो हेल्थ म्यानेज्मेन्टको उच्च अध्ययन, अस्पतालको स्थापना कालदेखि व्यवस्थापनमा समलग्नता, पब्लिक हेल्थमा सिकेको अनुसन्धान र एभिडेन्स वेस्ड मेडिसिन अर्थात प्रमाणमा आधारित भई समिक्षा र संशोधन लगायतका कुरा व्यवहारमा उतार्ने प्रयास गरी रहेकी छु ।
नोट:राष्ट्रिय मासिक जनस्वास्थ्य सरोकारमा प्रकाशित पुरोषत्तम घिमिरे बाट लिईएको हो।
फेसबुकबाट तपाइको प्रतिक्रिया