
दिपेन्द्र अधिकारी: झुक्याएको त्यो कालो दिनले आज फागुन १५ गते। अकल्पनीय दुर्घटना भएको तेस्रो वर्ष पार हुँदैछ। दुःख पीडालाई शक्तिमा बदल्ने प्रयास गर्दै दाइले देश राष्ट्रका लागि दिनुभएको योगदान, परिवारप्रति दिनुभएको प्रेमभाव सम्झँदै, सधैं उहाँले देखाउनु भएको बाटोमा निरन्तर लाग्ने शक्ति मिलिरहोस्। आज यसरी दाइलाई सम्झदै उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु।
दाइ आज पनि उही तीन वर्ष अघिको जस्तै उस्तै हँसिलो, सक्रिय अनि गम्भीर चिन्तकका रुपमा प्रातः स्मरणीय हुनुहुन्छ। भौतिक रुपमा आज हामीबीच हुनुहुन्न जीवनभर आदरणीय, पूजनीय मार्गदर्शक रहिरहनु हुनेछ। उहाँका प्रेरणादायक कुराहरूलाई मनन गर्दै क्षमताले भ्याएसम्म इमान्दार रही समाज, परिवार अनि सिङ्गै देशलाई योगदान दिन सकुँ भन्ने अठोट छ। दाइको योगदानलाई जीवन्त राख्न सानो भए पनि योगदान दिनसकुँ। यति नै मेरो लक्ष्य बनेको छ।
दाइ अर्थात् रविन्द्र अधिकारी। पारिवारिक सम्बन्धका हिसाबले म उहाँको सहोदर भाइ। तर यतिमात्र सीमित छैन सम्बन्ध। म उहाँको चेलो पनि। उहाँको अनुयायी पनि। एक हिसाबले दुःख सुखका कुरा साटासाट गर्ने साथी पनि। यतिमात्र नभएर युवा नेतृत्वको खडेरी परेको नेपाली राजनीतिमा सम्भावनायुक्त र क्षमतावान व्यक्तित्वका रुपमा सुपरिचित उहाँबारे स्मृति दिवसका अवसरमा केही अनुभव राख्ने जमर्को गरेको छु।
दाइ भन्ने गर्नुहुन्थ्यो– मानिसहरूबाट गल्ती, कमजोरी हुन्छ र गल्तीबाट शिक्षा लिदै अगाडि बढ्नु पर्छ। यी दुइटै कुराहरू लिएर जीवन अगाडि बढेको हुन्छ। सानो सफलतामा हौसिने, असफलतामा निरास हुने, डराएर ठूलो परिवर्तन गर्नुपर्ने कुराहरू नगरेर सामान्य कामचलाउ भएर बस्ने गर्न हुँदैन। अगाडि पर्खाल छन् भने नअलमलिइ तोडेर मानव समाज विकास गर्न अगाडि बढ्न पर्छ। आफूमा निष्ठा प्रतीज्ञा हुनुपर्छ। यसरी अगाडि बढ्दै गर्दा बैरीहरू, प्रतिगामीहरू आउन सक्छन् भन्नुहुन्थ्यो।
इमान्दारीपूर्वक परिवर्तनको दिशामा अघि बढ्दा भौतिक आक्रमण या अन्य षड्यन्त्र विभिन्न स्वार्थमा रहेका गलत मनसायहरूले लखेट्न खोज्छन् तर यस्तो स्थितिमा देशलाई सबैभन्दा अगाडि राखेर आफ्नो ब्रम्हले ठिक ठानेको कुरा गर्दै अगाडि बढ्ने हिम्मत राख्नुपर्छ भन्नुहुन्थ्यो उहाँ। यसो नगरे राजनीतिक परिवर्तन, सामाजिक परिवर्तन गर्न सकिदैन भन्ने उहाँको बलियो धारणा थियो।
यस्ता भावनाहरू समेटिएका कुराहरू दाइसँग दुर्घटना हुनुभन्दा एक हप्ता अगाडि मात्रै पनि भएको थियो। त्यसबेला जापानबाट नेपाल फर्केर दाइसँगको भेटमा मैले भने ‘राजनीति गाह्रो छ है दाइ’। लगभग ३–४ पटकको हाम्रो बसाईमा आफ्ना प्रेरणादायक कुराहरू सम्झाउनु भएको झलझली सम्झन्छु।
सधैं सकारात्मक सोच्ने, विरोधीहरूप्रति आक्रामक नभई सरल तरिकाले पेस भएर छलफलमा बसेर निकास खोज्न सक्ने अद्भूत क्षमता थियो। राजनीतिमा प्रतिस्पर्धीलाई दुष्मनको हिसाबले हैन राष्ट्र निर्माणमा योगदान पुग्ने, समृद्ध देश बनाउने, स्वस्थ प्रतिस्पर्धा गर्न प्रतिस्पर्धीलाई सारथी ठान्नुहुन्थ्यो। राम्रा जायज कुराहरूमा पार्टीको स्वार्थभन्दा माथि उठेर भए पनि देशका लागि बोल्नपर्छ भन्नुहुन्थ्यो।
उहाँलाई पदप्रति खासै कुनै चासो थिएन। जे जिम्मा दिए पनि जता दिए पनि पाएको भन्दा कयौं ठूलो परिणाम निकाल्ने खुबी विद्यार्थी राजनीतिबाट सरकारको मन्त्री रहँदाको दिनसम्म एउटै खालको सक्रियता थियो। लगातार परिणाममुखी काम गर्नुभयो। उहाँको सोच थियो, पद खोज्ने हैन पदले आफूलाई खोजोस्। जालझेल र षडयन्त्र गरेर आफू अगाडि बढ्ने हैन काम गरेर, परिणाम देखाएर अगाडि बढ्नु पर्छ भनेर प्रशिक्षणहरूमा भन्नु भएको भिडियोहरू मार्फत सुनेको छु। आज ठिक उल्टोजस्तो लाग्छ राजनीतिक गतिविधि नेपालमा।
०००
दाइ हुनुभएको भए कस्तो भूमिका रहन्थ्यो होला? यो त एउटा काल्पनिक कुरा नै भयो। तर मलाई लाग्छ, आज नेपालको यस्तो झनझन विकराल परिस्थिति देख्दा स्वर्गमा बसेर दुःख मान्नुभएको छ। नेपाल छिटो ‘समृद्ध नेपाल सुखी नेपाली’ बनोस् कामना गरिरहनु भएको छ पक्कै।
अल्छी र उदासिनताले समाजमा गफमा कुरा काटेर बस्ने नराम्रो संस्कार हुर्केको हुन्छ । ‘घरमा एक छाक खाने खाना छैन पढ्न जाने’ भनेर नकारात्मक कुराहरू हुँदा उदासिन सोच पनि जन्माएको हुन्छ । यसविपरीत बरू आधा छाक खाएरै भए पनि शिक्षा र चेतनास्तर बढाउनु पर्छ भनेर भनिरहनुहुन्थ्यो दाइ। सायद त्यसैले होला हामी सानै छँदा हामी र मेरा साथीहरूलाई पनि पढ्ने कुराहरू, सिर्जनशील हुने कुराहरूमा प्रोत्साहन गर्नुहुन्थ्यो।
दाइको राम्रो स्वभाव घरमा होस् बाहिर संकटमा पनि सान्त्वना दिने खुबीसँगै नयाँ अवसर खोज्ने पहिल्याउने र कन्भिन्स गराउने क्षमता मैले हाइस्कुल पढ्दाखेरी कतिपय भूमिगत मिटिङ्गमा उहाँले दिएका प्रशिक्षणमा होस्, सहज अनुभव हुन्थ्यो। सायद संकटमा पनि अवसर देख्न सक्ने विलक्षण खुबीका कारण नेपालमा भुकम्पले बिनाश गरेको बेला उदास भएर बस्ने हैन यसले अवसर पनि दिएको छ भन्नुहुन्थ्यो । पुराना संरचना भत्किए दुःखको कुरा हो तर रोएर बस्ने हैन आधुनिकीकरण गर्दै नयाँ निर्माणतिर लाग्नुपर्छ भन्ने उहाँका भाव उहाँकै लेखहरू, अन्तर्वार्ता पढ्दा सुन्दा पनि महसुस गर्न सकिन्छ। नाकाबन्दीका बेला पनि सिभिन्न सम्भावनाको खोजी गर्दै विकास समितिमा रहेर उहाँले गरेको योगदान पक्कै एक दिन नेपालीहरूले बुझ्ने छन्। यसबाट नेपालका राजनीतिज्ञहरूले पनि केही न केही सिक्न जरूरी छ।
राजनीति व्यक्तिगत स्वार्थरहित स्वच्छ सेवा, विकास, समृद्धि गर्नका लागि गरिनुपर्छ भन्ने उहाँको सशक्त सोच थियो। अन्तिम समयमा परिवर्तन गर्ने हुटहुटीले उहाँलाई सुत्न समेत दिएको थिएन। २४ घण्टाको १८ त उहाँ विकास निर्माण, भौतिक पूर्वाधारका बारेमै सोच्ने, त्यसका लागि गृहकार्य गर्ने गर्नुहुन्थ्यो।
गुणस्तरयुक्त पर्यटन व्यवसाय गर्न लगाएर २०२० मा धेरैभन्दा धेरै पर्यटक नेपाल भित्र्याएर पर्यटनबाट उल्लेखनीय परिवर्तन गर्न सकिन्छ भन्ने उहाँको विश्वास थियो। दुःखको कुरा आज त्यो अधुरो नै रहयो। लाग्छ, समय कम थियो त्यसैले बिश्राम नलिइ निरन्तर लाग्नुभएको रहेछ।
निकै कम मान्छेसँग मात्र होला दाइको जस्तो सन्तुलित तर निर्णय दिन सक्ने क्षमता। विरोधीसँग सजिलै प्रस्तुत भएर सामना गर्न सक्ने। पहिला विरोधीको कुरा सुनेर अनि जायज र आफ्ना आवश्यक विषयवस्तुहरू पनि प्रष्ट राखेर बिरोधी शक्तिलाई पनि कन्भिन्स गराएर सँगै हिंडाउन सक्ने चातुर्य र कौशल थियो।
पक्कै यो उहाँको माथिल्लो तहसम्म पुग्न सक्ने क्षमतायुक्त व्यक्तित्व थियो। यसमा हामी परिवारको साथ त थियो नै। विशेष योगदान विद्या भाउजूको नै हो। दाइ–भाउजु दुबैले समकालीन केन्द्रीय बिद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। भाउजू बीचमा प्राज्ञिक क्षेत्रमा बसेर दाइलाई सहयोग गर्ने अनि परिवारलाई सम्हाल्ने भूमिकामा रहनुभयो। आज राजनीतिमा फर्कनु भएको छ। उहाँ समाज रूपान्तरणका लागि आफ्नो सिद्धान्त र विचार दिन सक्ने क्षमता राख्नुहुन्छ। भाउजूले आफ्नो राजनीतिक यात्रासँगै अब दाइका अधुरा सपनाहरू पनि लिएर अघि बढ्ने संकल्प लिनुभएको छ। यसमा पाइला अघि बढाइसक्नु भएको छ। परिवारले उहाँलाई सधैं साथ सहयोग दिनेछ।
आज नेपालको राजनीति फेरि पुरानै ठाउँमा फर्किएको छ। उही ढुङ्गामुढा, नाराजुलुस, अस्थिरता। हामीले चाहेको समृद्ध नेपाल, तर कस्तो? यो देशलाई फेरि पनि दुश्चक्रमा अलमल्याउने काम हुनुहुँदैन। कुराको खेती मात्र गर्नेबाट देश चल्दैन। प्रगतिशील सोच र त्यसैअनुसारको योजनाबाट मात्र मुलुकले कोल्टो फेर्न सक्छ। यस्ता भावना दाइले लिपिवद्ध रुपमा लेख्नुभएको छ। उहाँले लेख्नु भएको आधारमा मेरो बुझाइले भ्याएसम्म जस्ताको तस्तै ‘समृद्धि’ पुस्तकका केही बुँदा यहाँ समेटिएको छ। जो यसप्रकार छ–
समृद्ध नेपाल, तर सबैका व्यक्तिपिच्छे फरक उत्तर बुझाई हुनेछ। सबैका आफ्नै प्राथमिकता, चाहना, बुझाइ र सपना छन्। जस्तै–
-पृथ्वीनारायण शाहलाई लाग्यो ‘छताछुल्ल टुक्रे राज्यहरू र सदाकाल लडिरहने युद्ध सरदार विकासका बाधक हुन्। उनले एउटै राज्य बनाउने प्रयास गरे।
-राणाहरूलाई लाग्यो ‘भारदारहरूको किचलो, छिमेकीसँगको अर्थहीन युद्ध र कमजोर शासक नै विकासका बाधक हुन्।
-काङ्ग्रेसलाई लाग्यो ‘राणा शासनमा स्वतन्त्रताको अभाव, सामन्ती शोषण र राज्यकोषको दुरूपयोग देश विकासको बाधक हो। उनीहरूले राणाशासन पल्टाएर आफैले शासन गरे।
-राजा महेन्द्रलाई लाग्यो यो भर्खर बन्द समाजबाट बाहिर आएको मुलुक, यसले उदार प्रजातन्त्र र स्वतन्त्रता पचाउन सक्दैन। जताततै भिडमात्र हुन थाल्दा दलहरू दलदल हुन्छ, यसरी विकास हुँदैन। विकास त बलियो एउटा शासकले गर्न सक्छ भन्ने ठानेर दलबिहीनको एकदल पञ्चायत ल्याए। हुन त सामाजिक सुधार, भूमिसिधार, नयाँ शिक्षा, गाउँफर्क, पूर्व–पश्चिम राजमार्गजस्ता महत्वपूर्ण काम गरेकै हुन्।
-दलहरूलाई लाग्यो पञ्चायतले त झन बित्यास पो पार्यो। दरबार र दरबारिया आसेपासेमात्र शासक प्रशासक बने। न काम न माम न स्वतन्त्रता न विकासको महसुस जनताका छोरा छोरीले नगरेपछि पञ्चायत फाले बहुदल ल्याए।
-दलीय ब्यवस्थामा काङ्ग्रेसको पालो आयो ‘सरकार एक्लैले गरेर कहिले सक्नु भनेर निजीकरण सुरू, उदारीकरण लागू भयो। विकासको प्राथमिकतामा फोन, बिजुली, सडक आदि परे। तर विकास भयो कसैले भनेन। सरकारी उद्योग लिलामी, नयाँ लगानी आएन। वैदेशिक रोजगारीले ब्यापकता पायो।
-कम्युनिस्टहरूलाई लाग्यो भएका उद्योगधन्दा बेचेर यो कस्तो विकास हो? युवा शक्ति सबै पलायन हुन थाले। गाउँ उजाड, शहर केन्द्रित विकास भयो। एमाले सरकारमा आयो विकास त गाउँबाटै हुनुपर्छ ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्दै गाउँमा बजेट पठाउँदै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई प्राथमिकता दियो। काङ्ग्रेसले भन्यो– राज्यकोष बर्बाद भयो। कनिका छरेर विकास हुँदैन।
-माओवादीले सहरको विकासमा साम्राज्यवाद देख्यो। गाउँको विकासमा सामन्तवाद देख्यो र मुर्दावाद भन्दै जनयुद्ध थाल्यो। विकास नभएको रोल्पा, रूकुम, कर्णाली नै क्रान्तिको प्रमुख क्षेत्र बने। हेपिएका जनताले नै हतियार उठाएर छापामार सहित युद्ध चल्यो। धेरै युवा विदेश पलायन भए। स्थाननीय तह जनप्रतिनिधिबिहीन बने।
-राजालाई लाग्यो यस्तो मनोमानीले विकास हुँदैन। विकासविरोधी विद्रोहलाई एकलौटी दमन गर्छु अनि विकास गर्छु। दमनमा माओबादी मात्र हैन अन्यदलहरू पनि परे। सबै दल, जनता, नागरीक समाज एकजुट भए आन्दोलनबाट स्वेच्छाचारी राजा फाल्ने, संविधान सभाको चुनाव गर्ने। माओबादी र अरू दल मिलेर विकास गर्ने सबैरोगको एउटै उपचार संविधान सभालाई ठानियो। राजतन्त्र गयो। माओबादी सरकारमा आयो। सेना, पुलिस, नोकरशाही पुरानो भए भन्दै कारबाही थाल्यो। अरू दललाई लाग्यो, अब माओवादीले एकलौटी गर्ने भयो। यहीँबाट दलहरूबीच शंका उत्पन्न भयो। माओबादीको शक्तिशाली प्रधानमन्त्रीको राजीनामा। त्यस गल्तीपछि छिरेको अस्थीरता। झनझन बिग्रँदै गयो। छोटो समयमा धेरै प्रधानमन्त्री पनि भए। जेनतेन संविधान त बन्यो तर तराई मधेस, जनजाति, उत्पीडित समूहको असन्तुष्टि, दलहरूबीच बढेको दूरी दाइले अन्तिम समयसम्म भोगेको भन्दा पनि दयनीय अवस्थामा छ। देशले निकास खोजेको छ।
एमाले माओबादी एक भएपछि सरकार बनाए पनि। नेकपा प्रधानमन्त्रीले आफ्नै पार्टीभित्र काम गर्न नसकेपछि समय अगावै चुनाव घोषणा गर्दा तत्कालीन प्रधानमन्त्री स्वेच्छाचारी भन्दै आफ्नै पार्टीका अग्रपंक्तिका नेताले विद्रोह गरे। काङ्ग्रेससहित पाँच दलीय गठवन्धन बन्यो। पूर्व सरकारले राखेको हस्पिटलदेखि महत्वपूर्ण बिकासका काम रोक्यो। झनझन राष्ट्रिय-अन्तर्रास्ट्रिय सम्बन्ध बिग्रँदै गएको छ।
गठबन्धनले निकास दिन नसकेपछि प्रधानमन्त्रीले निकास दिनुपर्यो। ‘केपी ओली निकास देऊ’ भन्नेसम्मको दलहरूको स्थिति छ। एमाले, काङ्रेस प्रमुख दुई पार्टी बीचमा माओवादी हुँदाहुँदै षड्यन्त्रको जड नियोजित देखिने गरी एमाले फुटाएर एकीकृत समाजवादी पार्टी घोषणा भएदेखि एमालेले अवैध भन्दै मान्यता नदिएको स्थितिमा सभामुखले अन्याय गरेको विषयमा एमालेको सदनमा विरोध छ भने गठवन्धन आफैं एमसीसीको दलदलमा फसेको छ। संकेत कतै देश नै दलदलमा फस्ने हो कि? चिन्ताका बीच जनताले यस्तो विकराल परिस्थितिको निकास दिने नेता को बन्ला भनेर आशा गरेर कुरेर बसेका छन्।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले अगाडि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियान पूरा गर्न दिन–रात नभनी विभिन्न कठिनाइहरू पार गर्दै, विकास निर्माणको रफ्तारमा यो धर्ती नै छाडेर जानुभयो। मसँग भन्नु भएको एउटा वाचा नेपाल एयरलाइन्सको सेवा सुरूको दिनमै नेपालबाट जापान आउने पहिलो जहाजमा आउने छु भन्नुभएको थियो त्यो अधुरो नै रह्यो। यद्यपि आज नेपाल–जापान नेपाली जहाजबाट आउजाउ गर्न पाइन्छ। त्यसपछि मैले पनि कयौंपटक नेपाल जापानको यात्रा गरिसकें। अलिकति महङ्गो भए पनि जान आउँदा मात्र ४० देखि ४८ घण्टाको यात्रा १४ देखि १५ घण्टामा गर्न सकिने भयो। म एक वैदेशिक रोजगार गर्ने नेपालीका लागि अति नै खुसीको कुरा हो। धन्यवाद भन्न चाहन्छु। प्रत्येकचोटि जापान–नेपाल गर्दा अनि नेपाल एयरलाइन्स चढ्दा दाईलाई सम्झिन्छु। सम्झदै टोहोलाउँछु पनि। अल्वेज मिस यू दाइ…।
फेसबुकबाट तपाइको प्रतिक्रिया