
काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेबीच शनिबार पनि वार्ता हुने भएको छ ।
शनिबार अपरान्ह दुई दलबीच वार्ता हुने तयारी छ । एमसीसी संसदमा टेबल भएसँगै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर वार्ता गर्दै आएका छन् ।
शुक्रबार साँझ पनि दुई दलबीच वार्ता भएको थियो । वार्तामा एमालेले पार्टीले राख्दै आएको माग पुरा भएपछि मात्रै अर्को प्रक्रियामा जान सकिने धारणा राखेको थियो ।
एमालेले सभामुख हटाउने कुरालाई बटमलाइन बनाउँदै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले बचाएको एमालेको आरोप छ । सभामुख हटाउने विषयमा काँग्रेस र एमालेबीच सहमति जुटिसकेको छैन ।
एमालेसँगको छलफलपछि काँग्रेसले सत्ता साझेदार माओवादी केन्द्रलाई एमसीसीको पक्षमा उभिन शनिबार तीन बजेसम्मको समय दिएको काँग्रेसका एक नेताले बताए । प्रचण्डले भने गठबन्धन जोगाउन अझैपनि आ–आफ्नो ठाउँबाट पहल गरिनुपर्ने बताउँदै आएका छन् ।
उनले शुक्रबार देउवालाई भेटेर एमसीसी निर्णयार्थ पेश हुँदा पार्टीले बहिस्कार गर्ने तर पास हुने वातावरण बनाएर गठबन्धन पनि जोगाउने प्रस्ताव गरेको बताइएको छ । तर देउवा विश्वस्त हुन भने नसकेको नेताहरुको भनाइ छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया