काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा रहेको भन्दै त्यसलाई पास गर्नुपर्ने बताएका छन् ।
मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले एमसीसी नेपालको हितमा रहेको र त्यसलाई पास गर्नुको विकल्प नरहेको बताएका हुन् । बैठकबाट बाहिरिने क्रममा कांग्रेस सांसद डा. शशांक कोइरालाले प्रधानमन्त्री देउवाले एमसीसी पास गर्नुपर्छ भनेर बिफ्रिङ गरेको र बैठकमा सोही विषयमा छलफल भएको जानकारी दिएका छन् ।
कोइरालाले बैठकमा उपस्थित सबै सांसदहरुले एमसीसीलाई अगाडि बढाउनुपर्ने धारणा राखेका जानकारी दिए । बैठकमा नेता डा. रामशरण महतले एमसीसी देशको हितमा भएका कारण यसलाई कार्यान्वयन गर्नुपर्ने बताए । उनले हामीकहाँ विकासका लागि आउने अनुदानबारे भ्रम फैलाइएको भन्दै भ्रम चिर्नुपर्ने बताए ।
बैठकबाटै बाहिरिने क्रममा कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल हुने बताएका छ । एमसीसी संसदमा टेबुल गर्नका लागि प्रचण्ड र माधव नेपाल पनि सहमत भएका कारण बुधबार बस्ने संसद बैठकमा यसलाई टेबुल गरिने उनले बताए । उनले छलफल हुने वातावरण बन्ने नबन्ने भन्ने कुरा नेकपा एमालेको हातमा रहेको बताए । एमाले १४ सांसदमाथि गरिएको कारवाही सभामुखले नगरेको भन्दै संसदमा नाराबाजी गर्दै आएको छ ।
एमसीसीबारे सत्तापक्षमै तीन धार
सर्वदलीय बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्र मन्त्री डा. नारायण खड्का, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू सहभागी थिए ।
त्यसैगरी बैठकमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी दलका नेता अकवाल अहमद साह, नेमकिपाका नेता प्रेम सुवाल तथा जनमोर्चाका नेता दुर्गा पौडेल, काँग्रेस सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठको सहभागिता थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया