स्याङ्जा। वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सङ्कलन गरी हस्तान्तरण गरिएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको विशेष पहलमा रु नौ लाख ८० हजार रकम भिरकोट–५ सिम्लेका अङ्कितसिंह ठकुरीको परिवारलाई सोमबार साँझ घरमै पुगेर हस्तान्तरण गरिएको हो ।
स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्याललगायतको सक्रियता तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रले अगुवाइमा रकम सङ्कलन गरी हस्तान्तरण गरेको हो । स्याङ्जा सहयोग समाज स्पेनबाट ६८०, फ्रान्सबाट ६००, बेल्जियमबाट ५००, नेदरल्याण्डबाट ३६०, एनआरएनए पोर्चुगलबाट दुई हजार ३०५, पोर्चुगलबाट तीन हजार ४१७ यूरो र थप केही सङ्घसंस्था तथा व्यक्तिबाट रकम सङ्कलन गरी घर पठाइएको हो । सङ्कलित रकम भिरकोट नगरप्रमुख छायाराम खनालले परिवारलाई हस्तान्तरण गर्र्दै २८ वर्षको अल्पायुमै रोजगारीका सिलसिलामा विदेशी भूमिमा ज्यान गुमाएकामा दुःख व्यक्त गरे ।
उहाँले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा रहेका स्याङ्जावासीको सहयोगमा सङ्कलन गरिएको रकमको सही सदुपयोग गर्न पनि सुझाव दिए। स्याङ्जा जिल्ला स्थायी ठेगाना भई वैदेशिक रोजगारीमा विभिन्न देशमा रहेका स्याङ्जावासीको सहयोगमा रकम सङ्कलन गरी हस्तान्तरण गरिएको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव मीन क्षेत्रीले बताए । समाजले विदेशी भूमिमा समस्यामा रहेका नेपालीको सहयोगमा काम गर्दै आएको छ । परिवारलाई सुखी राख्ने उद्देश्यसहित विदेशी भूमिमा काम गरिरहेका भाइ अङ्कितको निधनले मर्माहत भएको स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्यालले बताए । रासस
फेसबुकबाट तपाइको प्रतिक्रिया